बजेटमा फिल्म क्षेत्रलाई सम्बोधन

कलाकार संघको भवन निर्माणदेखि फिल्मकर्मीलाई राहतसम्म



सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा थोरै मात्रामा कलाक्षेत्रलाई पनि सम्बोधन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार सार्वजनिक बजेट भाषणमा आगामी आर्थिक वर्षबाट नेपाली श्रमजीवी फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरे। यसको आवश्यक काम शुरु भइसकेको उनले जनाएका छन्।

साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने जनाएका छन्। फिल्म छायांकनका लागि नेपाल अभियानको शुरुआत समायानुकूल वातावरणमा गरिने बजेटले जनाएको छ।

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थन्त्री डा. खतिवडाले मौलिक नेपाली फिल्म निर्माणका लागि प्रोत्साहित गर्ने, कलाकार संघको भवन निर्माण गर्न सहयोग र अनुदान दिने, नेपाली फिल्मको प्रवद्र्धन र संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गर्ने उल्लेख गरे। नयाँ बजेटले चलचित्र विकास बोर्डको प्रशासनिक कार्यक्रमलाई कटौती गर्ने भएको छ।

यस्तै वार्षिक कार्ययोजना तथा नीतिगत कार्यक्रमको दायरा बढाइएको छ। कोरोना जोखिमका कारण जारी लकडाउनलाई मध्यनजर राख्दै सरकारले हल सञ्चालकहरुलाई विद्युत् र कर छुट, निश्चित सामग्रीमा कर मिनाहा, विशेष राहत प्याकेज र अनुदानलाई जोड दिइने पनि सरकारले जनाएको छ।

उत्पादनमूलक उद्योग र सम्बन्धित निकायले उत्पादन शून्य भएको अवस्थामा उक्त छुट पाउने सरकारले जनाएको छ। कोरोना भाइरसका कारण ठप्प बनेको फिल्म क्षेत्र र यसबाट प्रत्यक्ष असरमा परेका फिल्मकर्मीलाई विशेष प्याकेजसहितको अनुदान कार्यक्रमलाई जोड दिने पनि सरकारले जनाएको छ।

त्यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका लागि बजेट प्रदान गरिने बजेटमा घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्