उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्छ : मेयर खाँण



भूपराज बस्याल,स्याङ्जा ।

वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिकाभित्र उत्पादित कृषिजन्य उपजको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ ५ मिनाङकोटमा सञ्चालित २० हप्ते एकीकृत शत्रु जीब ब्यवस्थापन (आईपिएम) कृषक पाठशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले नगरभित्रका ब्यवसायीले उत्पादन गरेका कृषिजन्य बस्तुहरु उत्पादन भएर बजार नपाउने समस्या हुन नदिनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

“सानो परिमाणमा कृषिजन्य बस्तु उत्पादन गरेर बजारीकरण गर्न कठिनाई हुनसक्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यक्तिगत होस् वा सामूहिकरुपमा ठूलो परिमाणमा उत्पादन गर्नुहोस्, उत्पादित बस्तु बिक्री नभएको खण्डमा नगरपालिकाले बिक्री वितरण गर्ने जिम्मा लिन्छ ।”

नगरपालिकाले नगरभित्रका वास्तविक कृषक तथा पशुपालन ब्यवसायीहरुको पहिचान गरेर ब्यवसाय सञ्चालनका लागि आवश्यक अनुदान तथा बीउ पूँजी उपलब्ध गराउने नगर प्रमुख खाँणले बताउनुभयो ।“आईपिएम पाठशालामा सिकेका सिकाईहरुलाई अब दैनिक ब्यवहारमा प्रयोग गरी ब्यवसायिकरुपमा अगाडि बढ्न आत्मनिर्भर बन्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यवसाय सञ्चालनका क्रममा आईपर्ने समस्याहरुको समाधानका लागि वडा तथा नगरपालिका कार्यालय यहाँहरुकै साथमा छ ।”

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ढाकाराम पंगेनीले सिकेका सीपलाई ब्यवहारमा उतार्दै आत्मनिर्भर बन्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यपालिका सदस्य जमुना खड्का, वडा सदस्य केशबहादुर थापा, नेकपा वालिङ ५ का संयोजक डालबहादुर खड्का, वडा कृषि सञ्जाल संयोजक चित्रप्रकाश रेग्मी, आईपिएम सहजकर्ता डाँसीनारायण अर्याल, जीवनज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल सुनिल जिसी, शयाम खड्का, मीना खड्का, कविता खत्री लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । २० हप्ता अघिदेखि सञ्चालित गोलभेडा खेतीसम्बन्धी आईपिएम पाठशाला बुधबार समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्