नेपाली खेलाडीहरु छनोट चरणबाटै बाहिरिए



न्युज अफ नेपाल, काठमाडौं ।

एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सवै खेलाडीहरु छनोट चरणबाटै बाहिरिएका छन् ।

बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराईन् । एशियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिप २०२० ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरि ६ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

स्विस प्रणाली अन्तरगत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्रे श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण बिराम लगाए । उनले ४ अंक प्राप्त गरे । यस्तै ३.५ अंकका साथ बिवेक श्रेष्ठ सातौ र ३.५ अंकका साथै निकेन कुशथा दशौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । जुनियर खुुला तर्फ शिर्ष दुई स्थान बंगलादेशका खेलाडी भए भने तेश्रो स्थानमा श्रीलङ्काका खेलाडी भए ।

यस्तै छात्राहरु प्नि प्रतिसपर्धाबाट बाहिरिएका छन् । खुस्वु थापा सातौ, अनिशा न्यौपाने आठौं र कृतीसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए । छात्रा तर्फ शिर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्का र बंगलादेशका खेलाडी रहे ।

पहिलो चरणमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट भएका छन् । बिजेतालाई एशियन जुनियर (छात्रा) अनलाईन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शिर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिला तर्फ शिर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कार सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्