पारा खेलाडीहरु बिश्व पारा पावरलिफ्टिङ्गमा सहभागी



न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड १९ को महामारीमा बिश्वनै अक्रान्त भईरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्धेश्यले बिश्व खेलकुद संस्थाहरुले विभिन्न कार्यक्रमलाई अगाडी सार्दै आईरहेका छन् ।यसै क्रममा बिश्व पारा पावरलिफ्टिङ्ग अर्गनाईजेशनले पनि आफ्ना सदस्य राष्ट्रहरुकाविच खेलाडीहरुलाई क्रियासिल राख्ने र खेल क्षमतालाई कमि हुन नदिने उद्धेश्यले अनलाईन प्रतिस्पर्धा गराएको छ ।

अर्गनाईजेशनले दोश्रो अनलाईनल बिश्व कप सिरिज आयोजना गर्दै सदस्य राष्ट्रका खेलाडीहरुलाई खेल जीवनमा सक्रिय पार्ने उद्धेश्यका साथ प्रतिस्पर्धा गराएको हो । सो सिरिजमा बिश्व पारा पावरलिफ्टिङ्ग अर्गनाईजेशनमा दर्ता रहेका तीन नेपाली खेलाडीहरुले पनि जनाएको प्रशिक्षक संजय महर्जनले जनाएका छन् ।

उक्त सेरिजमा नेपाली खेलाडीहरु निर्मला भण्डारीले ५५ केजी समूहमा, दुर्गामान तामाङ्गले ८० केजी र शरद पौड्यालले ९० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । निर्मलाले पहिलो लिफ्टमा ४५ केजी, दोश्रोमा ५० र तेश्रोमा ५५ केजी भार बहन गरेकी थिईन् । यस्तै पौड्यालले पहिलोमा ८५ केजी, दोश्रोमा ९० केजी र तेश्रोमा ९५ केजी तथा तामाङ्गले पहिलोमा ९० केजी, दोश्रोमा ९५ केजी र तेश्रोमा १०५ केजी तौल भार बहन गरेका थिए ।

कम्मर मुनिको भागमा अपाङ्गता रहेका ब्यक्तिहरुले प्रतिस्पर्धा गर्ने उक्त बिश्व कप सिरिजमा नेपाल सहित २० राष्ट्रका ४३ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । ११ देखि २४ मे सम्म भएको प्रतिस्पर्धाको २५ देखि ३१ मे सम्म टेक्निकल अफिसियल जजमेण्ट समय रहेको र जुन २ तारिखका दिन नतिजा प्रकाशन गरिने बिश्व पारा पावरलिफ्टिङ्ग अर्गनाईजेशनले जनाएको छ ।

सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अनलाईन बरियता प्राप्त गर्नुका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै बिश्व मास्टर्स एथलेटिक्स महासंघले पनि अनलाईन प्रतिस्र्धा गराएको छ । आफ्ना प्रत्येक सदस्य राष्ट्रका खेलाडीहरुविच प्रतिस्पर्धा गराउने उद्धेश्यले प्रत्येक राष्ट्रका दुई खेलाडीहरुको २ मिनटको भिडियो क्लिप तयार गरि पठाउनु पर्ने र उक्त क्लिपको आधारमा खेलाडीहरुको नतिजा प्रकाशित गर्ने नेपाल मास्टर्स एथलेटिक्स एसोसियशनका महासचिव भैरव शाहीले जानकारी गराएका छन् ।

उक्त प्रतिस्पर्धामा सेनाका राजेन्द्र भण्डारी र सेनाकै अर्का खेलाडी डा. गोपाल महर्जनले सहभागिता जनाएका छन् ।यसै क्रममा बिश्व चेस महासंघले पनि खेलाडीहरुका विच प्रतिस्पर्धा गर्ने उद्धेश्यले अनलाईन चेस प्रतियोगितालाई कसरी प्रभावकारी गर्न सकिन्छ भनेर परिक्षणको रुपमा कार्य गरिरहेको नेपाल चेस संघकी महिला कमिसन बोर्ड सदस्य मोनालिशा खम्बुले जानकारी गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्