नागरिकको सुरक्षा गर्ने डोटीका प्रहरीको सडकमै बास



विमल विष्ट, डोटी ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि खटिएका डोटीका प्रहरीहरुको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिकहरु जिल्ला प्रबेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य डिउटीमा खटिने प्रहरीहरु खुला सडकमै रात सुत्ने गरेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरीएको लकडाउनमा अग्रमोर्चामा खटिएका यहाँका प्रहरीको दैनिक सडकको भुईमै बास हुन थालेको दिपायल पिपल्लाका स्थानीय बमबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतबाट नेपाल आएका नागरिक राती बसमा आउने भएकाले उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी राती भुँइमा सुतेका हुन्छन, भुइमा ओछ्याउने कपडा पनि नहुँदा खाली जमिनमा सुत्दै आएका देखिन्छन् ।”

यतिमात्र नभई भारतबाट आएका नागरिकको व्यवस्थापनका लागि खटिएका यहाँका प्रहरी कर्मचारीले आफ्नो व्यारेकमा गएर खाना समेत खान पाएका छैनन् । डिउटीमा खटिएका प्रहरीले खाना समेत सडकमै खाने गर्न थालेका छन् ।

नागरिकको व्यवस्थापन गर्न समयमा व्यारेकमा सोत खाना खान जाने फुर्सद समेत नहुँने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो- “व्यारेक गएर खाना खान मात्रै होईन रातभरी सडकमै सुतेर बिहान मुख समेत धुन नपाएको घेरै दिन भइसक्यो, नागरिकको सुरक्षा गर्दा गर्दै रात दिन बितेको पत्तो हुँदैन ।”

यतिमात्र नभई भारतबाट आएकाहरुबाट कोरोनाको जोखिम बढेको भन्दै यहाँका स्थानीबासीले गाडी समेत रोक्ने तथा आफ्नो छिमेकमा रहेका क्वारेन्टिनमा लैजान अवरोध गर्ने गरेका कारण प्रहरीलाई झन समस्या हुँदै आएको प्रमुख शाहीले गुनासो गर्नु भयो ।

जिल्लामा दरबन्दी अनुसारका प्रहरी कर्मचारी नभएका कारण नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कर्ण बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा प्रहरी सङ्ख्या दरबन्दी अनुसार छैन, एकजना प्रहरीले कम्तीमा पनि १२ घण्टा डिउटी गर्नु पर्ने अवस्था आएको छ ।” जिल्लामा भएका दरबन्दी अनुसारका प्रहरी कर्मचारी कोही काजमा तथा कोही भिआइपीको सुरक्षामा पहिलेदेखि खटिएका र फिर्ता नभएका कारण समस्या हुँदै आएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा कुल ४२६ जना प्रहरी कर्मचारीको दरबन्दी भएपनि हाल २२६ जना मात्रै कार्यरत रहेको बताइएको छ । कार्यरत रहेका मध्येबाट पनि अहिले केही प्रहरीलाई क्वारेन्टिनमा खटाईएका कारण समस्या भएको हो । जिल्लामा दरबन्दी भएका प्रहरी कर्मचारीलाई तत्काल र्फिता गर्न सम्बन्धित निकायमा पटक पटक ताकेता गर्दा पनि अहिले सम्म फिर्ता नगरिएको प्रहरी निरिक्षक तथा सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसएपी) मुकेशकुमार सिंहले डोटीमा प्रहरी अभाबमा सडकमै बास भइरहेको अवस्था खासै नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडकमै सधै प्रहरीको बास भएको भन्न चै मिल्दैन, कहि कतै केही परिस्थितीले बास बसेका वा सुतेका हुनसक्छन्, देश भरीमै प्रहरी सङ्ख्या कमीछ, त्यही अनुरुप जिल्लामा पनि कमी भएको साच्चै हो, डोटीमा समस्या समाधानका लागि प्रदेश प्रहरीले थप १४ जना प्रहरी पठाएको छ अन्य ठाउँमा पनि प्रहरीको व्यवस्था मिलाउदै छ ।”

जिल्लामा कम्तीमापनि दई हजार ८७९ को सङ्ख्यामा नागरिक आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भारतबाट आएका नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक माबी तिखा, केआइसिंह गाउँपालिको झिमेमालिका माबि वायल, सरस्वती माबि रानागाउँ शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी, चवराचौतारा, पूर्वीचौकी गाउँपालिकाको साजघाट, जोरायल गाउँपालिकाको घण्टेश्वर माबि, बडीकेदारको बिपिनगरलगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्