चिकित्सक माथी हातपातः चिकित्सक संघको भत्र्सना



न्यूज अफ नेपाल, काठमाडौं ।

जेठ १४ गते नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भयो । उक्त घटनालाई लिएर चिकित्सकमाथी हातपात गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानकर्षण भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरीरहेको अवस्थामा बिरामीलाई बचाउन सकिनस् भनी चिकित्सकमाथी नै शारीरिक हमला गर्ने जस्तो अन्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।

चिकित्सक भगवान नभई बिरामीको उपचारका लागि आफ्नो क्षमता, योग्यता र उपलब्ध उपकरणहरुको अधिकतम प्रयोग गरी रोग निको पार्न प्रयास गर्ने व्यक्ति हुन् । त्यसैले कुनै पनि स्वास्थ्यकर्मी कसैको जीवनलाई बचाउन भगवान रुपीजादु गर्नसक्ने व्यक्ति नभएको स्पष्ट पार्न चाहन्छ ।

२०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख गरिएको छ ।

साथै उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णय भएकोछ ।

तर उक्त निर्णयको भावना र मर्म विपरित चिकित्सकहरुमाथी सांघातिक आक्रमण भईरहनु र सुरक्षाकर्मी मुकदर्शक भईरहने घटनाले कानूनी राज्यको उपहास गरेको नेपाल चिकित्सक संघको ठहर छ ।

त्यसैले हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाहीको माग गरिएको छ ।

कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छ ।

यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन समेत संघका महासचिव डा.बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्