तिमी आयौ र गणतन्त्र ?



 नारायण खनाल

मालारानी-३, अर्घाखाँची ।

(कविता) 

गणतन्त्र
तिमी आयौ रे
सबैले त्यसै भन्छन्
हल्ला गर्छन्
सुँघ्छु , तिम्रो सुवास
नियाल्छु तिम्रा क्रियाकलाप
देख्छु,आमाहरूका
परेलीमा आँसुका ढिक्का
सुन्छु समाचार
राज्यदोहकको फेहरिस्त सहितको
हेर्छु
जेलका स्वागत गेट
टिके न्यायमूर्तिहरु
अनि न्यायमूर्तिका आदेशहरु

बग्रेल्ती उम्रिएका भ्रष्ट लार्भाहरु।

मिलेर सबै उजाडिसकेको
रुखको जरा भित्रै
धमिराले देवल बनाइरहेकोले
जीवनको अन्तिम सास
अड्किरहेको रुख भेट्छु
अनि आफै म देख्छु
त्यही दुखी रुखको
हाँगा लाछिएको,
काण्ड भाँचिएको
पात झारेर सिख्रै पारिएको
आयो भनिएको
गणतन्त्रको खोल भित्र ।

गणतन्त्र
न स्वतन्त्रताको आभाष
देख्छु तिम्रो ढल्काइमा
न त तिम्रो बम्काइमा।

तिमी आयौ सुनेर
खुसी खुसी मनले
तिमीलाई चुमेको
समीरको स्नेहले
निमुखाको मुहारमा ल्याएको
हाँसो खोज्छु
तिमीलाई जन्माउन
छेदित शिरहरुको
क्रन्दन सुन्छु
अहँ देख्दिन ,
इन्द्रेणीका रङहरु कतै
यहाँ त अस्मिता लुटिएकाहरु
भूत बन्छन्
पातकीहरु लुट गर्छन्
तैपनि गणतन्त्र
तिमी आयौ भन्ने हल्लाले
कान गुन्जीरहन्छन्।

हेर्छु क्षितिजमा
उषाका किरण
खोज्छु मनभित्र
सगरमाथाको अटलता
गम्छु मनमनै
सत्यको तागत
जुकाका खल्ती भर्दाभर्दै
श्रमका हिराहरु मरुभूमि मै
आफै कुहिरहेको देख्छु

हल्ला हो कि साँच्चै
तिमी आएको कुरा गणतन्त्र ?
जनजीविकाको
आधार स्तम्भ बनी
राष्ट्रियतामा प्राण भर्ने
स्वाभिमानको रक्षाकवच बनी
समृद्धिको फूल फुल्ने
उर्वर माटो बनी

आशा छ
तिमी आउनेछौ पक्कै
दुश्कर्म नामेट पार्न
चेतनाको मसाल बनेर
पसिनाले मूल्य पाउन
सत्कर्मीको सारथि बनेर
नेपाली मनको खुसी समेट्न
श्रीवृद्धिको पवनमा
नेपाल र नेपालीको
शान बनेर।

प्रतिक्रिया दिनुहोस्