भारतमा नयाँ आतंक मच्चियो, नेपालमा पनि खतराको घण्टी !



एजेन्सी ।
कोरोनाको कहरबीच सोमबारदेखि भारतमा नयाँ आतंक मच्चिएको छ । त्यो आतंकको कारण अरु केही नभएर विनाशकारी किरा सलह पसेको हो । यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रमा समेत सलहको प्रकोप देखिएको छ ।

गत सोमबारबाट आक्रमण सुरु गरेको सलहले अहिले महाराष्ट्रलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् । सलहका कारण अहिले सो क्षेत्रका कृषकहरु आक्रान्त बनिरहेको र उक्त किराको नियन्त्रणका लागि राज्य सरकार नै लागि परेको मुम्बईस्थित चर्चित अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । सलह नियन्त्रणका लागि विषादी छर्कन दमकलको समेत प्रयोग गरिएको समाचारमा उल्लेख छ ।

करिब २७ वर्षपछि फेरि एकपटक भारतमा सलहको आक्रमण देखिएको हो । राज्यको कृषि विभागका अनुसार सन् १९९३ मा यसै गरी सलहले भारतको महाराष्ट्रमा आक्रमण गरेको थियो ।

विभागका अनुसार अहिले पुनः भारतमा प्रवेश गरेको सलहको झुण्ड कम्तिमा १० किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइ रहेको छ । प्रवेश गरेको तीन दिनमा नै सलहले करिब १२० किलोमिटरको दूरी पार गरिसकेको छ र सो क्षेत्रमा प्रभाव जमाइसकेको छ । सलहले आफूलाई झुण्ड–झुण्डमा विभाजित गर्दै पुरै देशमा नै प्रभाव जमाउने खतरा बढेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

हाल सलह प्रभावित क्षेत्रहरुमा खाद्यान्न बाली नभएकाले त्यति ठूलो क्षति नहुने तर फलफूल र तरकारीमा भने उच्च जोखिम रहेको सो क्षेत्रका राज्य सरकारले बताएका छन् ।

‘आक्रमण सोमबार बिहान काटोल(नागपुर)बाट शुरु भयो । यद्यपी हामी मनसुनको नजिक छौँ । र यी क्षेत्रहरुमा जुन १० पछि मात्र लगाइने विरुवाहरु छन् । जसले गर्दा कृषि बालीहरुमा त्यति ठूलो क्षति हुने देखिँदैन । तर सुन्तला बगैँचा र तरकारीहरुमा भने यसको आक्रमणको खतरा छ । सलहका कारण ती बगैँचाहरुको सुन्तलाको उत्पादनमा करिब २५ प्रतिशतले घाटा हुने अनुमान गरेका छौँ ।’ नागपुर कृषि डिभिजन कार्यालयका संयोजक रविन्द्र भोसलेको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले भनेको छ ।

हाल नागपुरका दक्षिणी क्षेत्रका ग्रामीण कृषि फार्महरुको सयौँ हेक्टरमा लगाइएको फलफूल तथा तरकारी बन्दागोवी, चिप्ले भेण्टी, फूलगोवी (काउली) लगायतका बालीहरु सलहको खतरामा परेका छन् ।

खतराको घण्टी नेपालमा पनि

भारतमा सलहको प्रवेश र आक्रमणसँगै नेपालमा पनि सो खतराको घण्टी बजिसकेको छ । तीन दिन भित्र नै ४–५ प्रदेशमा फैलिने गरी तीव्र आक्रमण सुरु गरेको सलहले छोटो दुरीमा रहेको छिमेकी मुलुक नेपालमा समेत प्रवेश गर्न सक्ने खतरा बढेको छ ।

सरदर एक दिनमा नै २५० किलोमिटर देखि ३०० किलोमिटर दूरीसम्म बेग(यात्रा) गर्न सक्ने सलहले भारतदेखि नेपालमा सहजै प्रवेश गर्न सक्ने देखिएको छ । हावाको गतिसँगै आफ्नो यात्रा तय गर्ने सलहले मौसमी हावासँगै नेपाल प्रवेश गर्ने खतरा उच्च रहेको कीट विज्ञान महाशाखा, नार्कका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल बताउछन् ।

‘अहिले नै यसै भन्न सकिने अवस्था छैन । भारतमा प्रवेश गरेसँगै नजिकको छिमेकी मुलुक नेपालमा समेत सलह प्रवेश गर्न सक्ने उच्च जोखिम रहन्छ । तर त्यो मौसममा भर पर्छ ।’ वरिष्ठ वैज्ञानिक डा।अर्यालले भने, ‘हावाको बहावको दिशा अनुसार आफ्नो यात्रा तय गर्ने हुँदा मौसमी हावासँगै सलह नेपाल प्रवेश गर्ने उच्च जोखिम छ ।’

यही जोखिमलाई मध्यनजर गर्दै गत सोमबार भारतमा सलहको प्रकोप देखिने बित्तिकै नेपालमा पनि सो बारे छलफल सुरु भएको छ । भारतमा प्रकोप देखिएसँगै नेपालमा पनि सलहको प्रवेश हुनसक्ने उच्च जोखिम रहेको भन्दै सतर्कताका लागि केन्द्रीय स्तरमै छलफल भएको हो ।

राष्ट्रिय बाली तथा विषादी परीक्षण समितिको नेतृत्वमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र किट विज्ञान महासाखा, नार्कको संयोजकत्वमा सोबारे छलफल भएको छ । यदी सलह नेपाल प्रवेश गरिहाले के गर्ने र कसरी सुरक्षित गर्ने र प्रकोपको नियन्त्रण गर्ने भन्ने बारे छलफल भएको वैज्ञानिक डा। अर्यालले जानकारी दिए । सो बारे अझै छलफल जारी रहेको उनको भनाइ छ ।

के हो सलह ? यसले कसरी गर्छ आक्रमण ?

सलह एक प्रकारको फट्याङ्ग्रो जातिको मरुभूमीय किरा हो । यो मरुभूमि अर्थात् तातो बलौटे क्षेत्रमा रहने गर्छ । त्यसैले यसलाई डेजर्ट लोकस्ट पनि भन्ने गरिन्छ । यसको वास्तविक क्षेत्र गर्मी मरुभूमीय क्षेत्रहरु नै हो । त्यसैले यसको उद्गम क्षेत्र पनि इथोपिया, अफ्रिका, सोमालिया लगायत खाडी मुलुकहरु हुन् । अहिले यी नै मुलुकहरु हुँदै उष्ण९तातो० हावामा बगेर डेजर्ट लोकस्ट भारतसम्म आइपुगेको वैज्ञानिक डा।सुनिल अर्यालको भनाई छ ।

‘डेजर्ट लोकस्ट उष्ण(तातो) मौसमी हावापानीमा रहने मरुभूमिय जीव हो । यो मरुभूमीका देशहरु इथोपिया, अफ्रिका, सोमालिया लगायत खाडी मुलुकहरुमा रहने गर्छ । तर अहिले उष्ण हावासँगै सोही हावाको गति र दिशामा बगेर सलह खाडी मुलुक पाकिस्तान हुँदै भारतसम्म आइपुगेको छ ।’ डा. अर्यालले भने, ‘डेजर्ट लोकस्ट एक दिनमा नै २५० देखि ३०० किमीसम्म उड्न वा यात्रा गर्न सक्ने भएकोले यो धेरै लामो ठाउँ सम्म पुग्न सक्छ ।’

डा. अर्यालका अनुसार डेजर्ट लोकस्ट झण्डै २०–२५ किलोमिटर प्रतिघण्टाको वेगमा उड्न सक्छ । तर यो समूहमा हिँड्ने भएकोले यसलाई सलह भनिएको हो । अहिले यो उष्ण हावासँगै पूर्वी क्षेत्रबाट पश्चिम क्षेत्रतर्फ लागेको छ ।

भारत सम्म आइपुगेको सलह यदि नेपाल प्रवेश गर्योे भने यहाँका कृषि बाली नालीहरु सबै सखाप पार्नेछ । सलहले सबै अन्न अनाज र उत्पादनहरु केही पनि नराख्ने हुँदा अहिले मकैको सिजन हुँदा मकै सखाप पार्ने र कृषकलाई नोक्सान गर्न सक्ने वैज्ञानिक डा. अर्यालको भनाइ छ । यतिसम्मकी सलहका कारण कृषि बाली नोक्सानी हुँदा मुलुकमा खाद्य संकटसमेत निम्तन सक्ने खतरा रहने उनको भनाइ छ ।

त्यसो त पहिले नै एकपटक नेपालमा सलहको आक्रमण भइसकेको छ । वि.सं. १९६० को दशक तिर नेपालको काठमाडौँसम्म सलहको आक्रमण भएको बुढापाका वा विज्ञहरुबाट सुन्ने गरिएको हो । तर आजको पुस्ताका लागि भने यो नौलो विषय बन्न सक्छ ।

नियन्त्रणको उपाय

डेर्जाड लोकस्ट अर्थात् सलह तिब्र रुपमा फैलिने र वृद्धि विकास सोही गतिमा हुने हुँदा यसलाई नियन्त्रणमा लिन साह्रै गाह्रो हुने डा।अर्यालको भनाई छ । यो किरा फैलिसकेपछि लामो समयसम्म प्रभाव पार्न सक्ने र आफै हटेर नगएसम्म वा आफै नमासिएसम्म नियन्त्रणमा कठिनाइ हुने उनको भनाइ छ ।

‘सलह निकै ज्याद्रो जीव हो । फैलिसकेपछि यसलाई नियन्त्रणमा लिन साह्रै गाह्रो हुन्छ । यो आफै हटेर नगएसम्म वा लोप नभएसम्म नियन्त्रणमा लिन गाह्रो हुन्छ । तर यसको प्रभावलाई कम गर्न भने केहि उपायहरु लगाउन सकिन्छ । जस्तो, किटनाशक विषादी प्रयोग गरेर मार्ने वा विभिन्न आवाज दिएर बालीको नजिक आउन नदिने होे ।

तर यो त्यति सजिलो छैन । लार्ज स्केल९ठूलो समूह०मा रहने सलहलाई विषादी प्रयोग गर्न समेत दमकल तथा हवाई सेवा नै प्रयोग गर्नुपर्र्ने हुन सक्छ । विकसित देशहरुले त अहिले पनि त्यसै गरिरहेका हुन्छन् । तर हाम्रो जस्तो गरिब मुलुक र अशिक्षित किसानहरुका लागि यो निकै गाह्रो र महँगो विषय हो । यदि सलह आइहाल्यो भने नेपालले ठूलो क्षति व्यहोर्नु पर्ने देखिन्छ’ डा।अर्यालले भने ।

वैज्ञानिक डा. अर्यालका अनुसार डेजर्ट लोकस्टको जीवन चक्र करिब २ महिनाको मात्र हुन्छ । तर दुई महिनाभित्र पोथी लोकस्टले ४ सय देखि ५ सय सम्म अण्डा पार्छे र लोकस्टको संख्या वृद्धि गर्छ । अण्डाका लागि मरुभूमिय बलौटो माटो उपयुक्त हो । पोथी सलहले बालौटो माटोको तल प्लेट तयार गर्छे र त्यहि अण्डा पार्छे । अण्डा पारेको २–३ हप्तामा अण्डाबाट लाभा निस्कन्छ र २–३ हप्ताकै अवधिमा वयस्क हुन्छ । त्यसपछि नयाँ पुस्ताको नयाँ समुह बनेर झुण्डमा आहार खोज्न निस्कन्छ । तर यसको समयावधि वयस्क भएको त्यहि ५–६ हप्ता मात्र हो । त्यसपछि भने लोकस्ट मर्छ ।

प्रतिक्रिया दिनुहोस्