सेनाद्वारा बाढीमा फसेका वृद्धको उद्दार



मोतीराम तिमल्सिना, काभ्रे ।

बुधबार दिउँसो परेको पानीका कारण अकस्मात रोशी खोलामा आएको बाढीमा फसेका ६० बर्षीय बृद्धलाई नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोलीले राति उद्धार गरेको छ । बृद्ध दिउसो पानी नपरेकाले खोलामा माछा मार्न गएको परिवारले जानकारी दिएका छन् ।

नमोबुद्ध नगरपालिका वडा नम्वर ६ खाक्सी स्थित रोशी खोलामा आएको बाढीमा फसेका बृद्ध पञ्चलाल तामाङलाई सुरक्षाकर्मीहरुको संयुक्त टोलीले लगातार दुई घण्टाको प्रयास पछि उद्धार गरिएको थियो ।

एक्कासी खोला बढे पछि पञ्चलाल अग्लो ढुंगामा गएर बसेका थिए । चारै तिर खोलाले ढाकेपछि ढुंगा समेत पुरिन लागेको थियो । पञ्चलालको त्यो अवस्था भएको तत्काल स्थानीय र आफन्तहरुले देखे पछि सुरक्षा निकायमा खवर गरिएको थियो ।

बुहारी चन्द्रमायाका अनुसार पञ्चलाल १ बजे माछा मार्न घरबाट निस्केका थिए । दिउसो साँढे चार बजेको समयमा स्थानीयले थाहा पाएकाले उद्धारका लागि सुरक्षा निकायलाई खवर गरिएको थियो ।

विष्णु दल गण धुलिखेलका प्रमुख सेनानी गणपति सुबास खड्काले वाढीमा फसेका पञ्चलालको राति अबेर सकुशल उद्धार गरिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले नेपाली सेना र प्रहरीको टोलीले खोलामा फसेका बृद्धको उद्धार गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्