स्वास्थ्यमन्त्रीसहित १ सय ४६ को रिपोर्ट नेगेटिभ



काठमाडौं, (नेस)

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, सचिव यादव कोइरालासहित १ सय ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री ढकालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आफन्त बिरामीलाई भेटेको तेस्रो दिनमा कोरोना संक्रमण रिपोर्ट आएको थियो । मन्त्री ढकाल भने बिरामीको नमुना संकलन गर्ने तयारीपछि सेल्फ क्वारेन्टायनमा बस्नुभएको थियो । मंगलबार बिहान मन्त्री ढकालको स्वाब लिई बेलुका रिपोर्ट नेगेटिभ आएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्री ढकालको रिपोर्ट नेगेटिभ आएसँगै स्वास्थ्य मन्त्रालय पुगी सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको कामका विषयमा छलफलमा सहभागी हुनुभएको थियो ।

स्वास्थ्य मन्त्रालयका अन्य चिकित्सक तथा कर्मचारीको पीसीआर परीक्षणका लागि आइतबार नमुना संकलन गरिएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फ्रन्ट लाइनमा खटिएका चिकित्सक कपिलवस्तुमा कन्ट्रयाक ट्रेसिङ गरेर फर्किएलगत्तै मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टरको कमान्ड बैठकमा सहभागी हुनुभएको र उहाँलाई दुई दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आएपछि मन्त्रालयका १ सय ४६ जनाले पीसीआर परीक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्