रुकुम पश्चिम हत्याकाण्ड: सांसदको माग नै सुनुवाइ भएन



काठमाडौं, (नेस) ।

रुकुम पश्चिम हत्याकण्डको विषयलाई लिएर सांसदहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरे पनि सुनुवाइ हुन सकेको छैन । सांसदहरूले दुई दिन लगातार संसद्मा उक्त घटनाको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे पनि समिति गठन हुन नसकेको हो ।

प्रतिनिधिसभाको बधुबारको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुम पश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतीकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गर्नुभयो ।

सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानबिन गर्न माग गर्नुभयो । त्यसै गरी सांसद महिन्द्रकुमारी लिम्बुुले रुकुम पश्चिमको घटनाको छानबिनका लागि सर्वदलीय समिति गठन गर्न माग गर्नुभयो । सांसद यशोदा सुवेदी गुरुङले रुकुम पश्चिम घटनालाई राजनीतीकरण नगर्न माग गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरू लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो । नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीका घरमा गएका अन्य दुई जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीन जना बेपत्ता छन् ।

संसदीय छानबिन समिति गठन गर्न सभामुख अग्नि सापकोटाले दलहरूसँग छलफलसमेत गर्नुभएको छ । सांसदहरूले दुई दिन लगातार संसदीय छानबिन समिति गठन गर्न माग गरे पनि अझैसम्म सुनुवाइ हुन सकेको छैन । गृह मन्त्रालय रुकुम पश्चिमको घटनाको छानबिन गर्न समिति गठन गरेपछि सांसदहरूले सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्