अञ्चल आयुर्वेद औषधालयमा छैन स्वास्थ्य उपकरण



काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी हुने विज्ञले सुझाव दिए पनि औषधालयमा भने जाँच उपकरणसमेत छैन ।

काठमाडौँ महानगरपालिका–८ स्थित जयवागेश्वरीमा रहेको वाग्मती अञ्चल आयुर्वेद औषधालयमा भने व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई० लगायत सामग्री नहुँदा बिरामीको परीक्षण गराउन समस्या भएको हो । सुरक्षा उपकरण नभएकाले औषधालय आएका बिरामीलाई टाढै राखेर सोधपुछका आधारमा औषधि दिने गरेको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा अञ्जु कार्कीले बताउनुभयो ।

सुरक्षा उपकरण नभएकाले औषधालयमा प्रेसर समेत जाँच गरिँदैन । औषधालय छिर्ने बित्तिकै सोधपुछ कक्षमा कर्मचारीले टाढाबाट थर्मल गनले ज्वरो नापेर मात्र भित्र छिराइन्छ । दाहिने काँध दुखेर औषधालयमा जचाउन जाँदा नछोइकन सोधपुछका आधारमा आयुर्वेद चिकित्सक डा कार्कीले औषधि दिनुभएको गोकर्णेश्वरका मक्षेन्द्रप्रसाद सापकोटाले सुनाउनुभयो ।

आयुर्वेदका धेरै औषधिले रोग प्रतिरोधी क्षमता बढाउने भन्दै कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी निर्देशिका नै जारी गरेको छ । औषधालयमा भने सुरक्षा उपकरणसमेत नहुँदा बिरामीले सामान्य सेवासमेत पाउन नसक्ने अवस्था बनेको छ । औषधालय वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत छ ।

अञ्चल आयुर्वेद औषधालय भने पनि जिल्ला आयुर्वेद औषधालय भन्दा कम कर्मचारीको दरबन्दी दिँदा काममा अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ । काठमाडौँमा अञ्चल आयुर्वेद औषधालय भएकाले जिल्ला औषधालय छैन । काठमाडौँका पाँच स्थानीय तहमा समेत आयुर्वेद औषधालय छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । देश सङ्घीय सरचनामा जानु अघि पाँचवटै कार्यालय वाग्मती अञ्चल आयुर्वेद औषधालय थिए । हाल सबै औषधालय सम्बन्धित स्थानीय तह मातहतमै छन् ।

आयुर्वेदका ग्रन्थमा ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधिको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ ।

जसका कारण कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउनुहुन्छ । यहीँका जडीबुटीको उपयोग गर्नसके बाहिरबाट भित्रने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्