‘पुलिङ्ग क्वारेन्टाईनले कुस्मा र जिल्लालाई नै सुरक्षित राख्न मद्दत गर्छ’



न्युज अफ नेपाल,पर्वत ।

कुस्मा र सम्रग जिल्लालाई नै कोरोनाको संक्रमण फैलनबाट सुरक्षित गर्नका लागि भारत तथा तेस्रो मुलुकबाट पर्वतमा आउने नागरिकलाई राख्न कुस्मामा पुलिङ्ग क्वारेन्टाईन बनाइएको स्थायी प्रशासनले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कुस्मा बजार र समग्र जिल्ला नै कोरोना फैलनबाट रोक्नका लागि एकद्वार निति अपनाईएको स्पष्ट पार्नुभएको हो ।

‘लुकिछिपी कसैलाई आउन नदिने र एकै ठाउँमा सुरक्षित हिसाबले परिक्षण गरेपछि सामुदायिक क्वारेन्टाईनमा पठाउँदा सबै सुरक्षित हुन्छन’ उहाँले भन्नुभयो ‘सबैलाई सहज र सुरक्षित बनाउन जनप्रतिनिधी, सरोकारवाला बसेर निर्णय गरेका हौ।’ उहाँले जिल्ल प्रशासन र सिडियोले मात्रै एकल निर्णय गरेर कसैलाई नराखिएको पनि उहाँले बताउनुभयो ।

भारतबाट र तेस्रो मुलुकबाट आउनेलाई बढीमा तीन देखि चार दिन सम्म मात्रै कुस्माका होटलहरुमा पुलिङ्ग क्वारेन्टाईन बनाएर राख्न थालिएको छ । पिसिआर परिक्षण गरेपछि कोरोनाको संक्रमण देखिएमा उपचारका लागि राख्ने र नेगेटिभ आएमा सम्बन्धित पालिकामा पठाएर तीन हप्ता क्वारेन्टाईनमा राख्ने निर्णय कार्यान्वयनमा छ ।

कुस्मा बजारका होटलमा मात्रै पुलिङ्ग क्वारेन्टाईन बनाउँदा होटल नजिक पर्ने समुदाय र केही राजनैतिक दलका नेताले समेत सबैलाई पालिकामा पठाउन र कुस्मामा नराख्न भित्रभित्रै दबाब समेत दिदै आएका छन । तर होटलमा राखेर पिसिआर जाँच गर्दा संक्रमितलाई कुस्माको कोरोना अस्पतालमा ल्याउन सजिलो हुने मात्रै होइन संक्रमित भए नभएको बारेमा पहिचान गर्न समेत सहज हुने देखेर जिल्ला कमाण्डपोष्टले निर्णय गरेको थियो ।

सिमानाबाट सुरक्षा ब्यबस्था सहित ल्याउँदा भारतबाट आउने ब्यक्तिहरु अन्य ब्यक्ति संग सम्पर्कमा नआउने र होटलबाटै परिक्षण गरि निस्कदा सिंगो समुदाय सुरक्षित बन्छ भन्ने आधारमा निर्णय भएको प्रजिअ नेपालले बताउनुभयो ।

क्वारेन्टाईन बनाएका होटलहरुमा सेनाले सुरक्षा दिएका कारण भाग्ने र परिवार तथा समुदायको सम्पर्कमा पुग्न समेत रोक्ने भएकाले वरपरका बजार र बासिन्दालाई पनि संक्रमित हुनबाट बचाउने काम पुलिङ्ग क्वारेन्टाईनले गरेको छ ।
सिमानाबाट पालिकाहरुले ल्याउँने र सम्बन्धित पालिकामा पठाउँदा पिसिआर परिक्षण गर्न जाने जनशक्ति, सवारी साधन, तथा सुरक्षा सम्बन्धी उपकरणको ब्यबस्थापन गर्न समेत कठिन हुन्छ ।

संक्रमित फेला पारेमा पालिकाबाट कुस्मा सम्म ल्याउन कठिन हुन्छ । कुस्माको कोरोना अस्पतालमा सबै पालिकाले लगानी गरेका कारण संक्रमित देखिएमा उपचारका लागि ल्याउनै पर्ने अबस्था छ । त्यसैले उनीहरुलाई गाउँबाट ल्याउँदा एम्बुलेन्स समेत नपाउने अबस्था मुलुकभर देखिएको छ । अर्को तर्फ होटलमा राखिएका मध्ये संक्रमित भेटिएमा होटललाई डिसइन्फेक्सन गर्न सजिलो र छिटो हुने देखिएको छ ।

कोभिड १९ नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टले पर्वतको कुस्माबजारमा पिसिआर परिक्षण नहुँदा सम्म मात्र भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई राख्नका लागि पुल क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

भारत तथा तेस्रो मुलुकबाट उद्दार गरि ल्याउनेलाई राख्नका लागि पोखरा बागलुङ्ग सडकको खण्डमा रहेका होटलहरुलाई सामुदायिक क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई जिल्ला आएपछि परिक्षण प्रयोजनका लागि कुश्मा स्थित होटलहरुमा राखिने छ ।

परिक्षण पश्चात भने संक्रमीत देखिएमा आइशोलेसन वार्डमा लगिनेछ भने, रिर्पोट नेगेटिभ आएमा स्थानीय तहले निर्माण गरेका सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्