सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै सङ्क्रमित फेला परेको हो : सेना



काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ ।

कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्धारा आज यहाँ आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड–१९ नियन्त्रणका लागि सरोकारवालाबीच राष्ट्रिय एक्यबद्धता आवश्यक रहेको जानकारी दिइयो ।

कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म काबु बाहिर नरहेको बताउँदै सेनानी नवीन फुयालले सम्भावित सङ्क्रमित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै सङ्क्रमित फेला परेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “परीक्षणको दायरालाई ठीक ढङ्गबाट अघि बढाइएको छ, अहिलेसम्म सङ्क्रमण काबु बाहिर गएको छैन, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी परीक्षण विस्तार लगायतका तयारी गरिएको छ ।”

सरकारले यसअघि नै परीक्षणको दायरा बढाएर कूल जनसङ्ख्याको दुई प्रतिशत पु¥याउने घोषणा गरिसकेको छ । यसैबीच, सेनाले काठमाडौँ, तराई मधेश दु्रतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्रै पूरा गर्न हालसम्मको लकडाउनबाट खासै असर नपर्ने जानकारी दिएको छ ।

उक्त आयोजनाका प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले भन्नुभयो, “कोभिड १९ का कारण आयोजनालाई सहजरुपमा अघि बढाउन केही चुनौती भए पनि अहिलेसम्मको लकडाउनले तोकिएको समय सीमाभित्र आयोजना पूरा गर्न खासै असर पु¥याएको छैन ।”

लकडाउन लम्बियो र अन्तर्राष्ट्रिय परामर्शदाता आउन कठिनाइ भएको खण्डमा भने समयमा आयोजना पूरा गर्न चुनौती हुनसक्ने बताउँदै उहाँले भन्नुभयो, “यदि त्यो स्थिति आयो भने अरु विकल्प र कार्ययोजना बनाएर काम गरिने छ ।” मुलुकको विकासको मेरुदण्डको रुपमा रहेको द्रुतमार्ग सबैभन्दा प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

ललितपुरको खोकनादेखि निजगढसम्म करिब ७२ किलोमिटर लामो दूरीको उक्त सडक नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड १९ को नियन्त्रणका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको औँल्याउनुभयो । उहाँले कोरोना १९ सँग सम्बन्धित चीनबाट खरिद गरिएको केही स्वास्थ्य सामग्री आइसकेको र बाँकी सामग्री केही दिनभित्र आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्