होटलमा युवतीको शंकास्पद मृत्युपछि डडेल्धुरा तनावग्रस्त



राम धामी,डडेल्धुरा ।

डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टमा एक युवतीको शंकाष्पद मृत्यु भएको छ । प्रहरी जवान पदमा कार्यरत युवाकसँगै होटलमा बास बसेकी उनको शंकाष्पद मृत्यु भएपछि आफन्तजनले उनको हत्या भएको बताएका छन ।

डडेल्धुराको अमरगढी नगरपालिका –७ सल्लागाँउ घर घएकी अन्दाजी २१ वर्षीय निर्मला बोहोरा मंगलबार राती रिर्सोटमा मृत अबस्थामा फेला परेकी हुन् । उनी होटेलको बाथरुममा कपडा झुण्ड्याउने मसिनो ह्याङ्गरमा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले रातीनै रिर्सोटबाट जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान भईरहेको बताए । जिल्लाको अजयमेरुस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामदिन चौधरीसँगै रिर्सोटमा बास बसेकी युवतीको शंकाष्पद मृत्यु भएपछि डडेल्धुरा तनावग्रस्त बनेको छ ।

बुधबार बिहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती होटलको कोठामा पुगेको र युवती होटलमा पुगेको १५ मिनेटपछि प्रहरी जवान चौधरी युवतीको कोठामा पुगेको रिर्सोटका प्रबन्धक बिष्णु भट्टले बताए ।

प्रहरी जवान चौधरीले सरकारी रातो रंगको मोटरसाईकल प्रयोग गरेका थिए । घटनाका सन्दर्भमा प्रहरी नायव उपरिक्षक न्यौपानले शबको पोर्टमार्टम गर्नुपर्ने र पिडीत पक्षले किटानी जाहेरी दर्ता गरेपछि थप अनुसन्धान गरिने बताए । उनले भने ‘प्रमाणका आधारमा घटनामा संलग्न जो भए कानुनी कारवाहीको भागेदार हुन्छ ।’ मृतक युवतीसँगै होटलमा बास बसेका प्रहरी जवान चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अनुसन्धान फाँटमा कार्यरत प्रहरी निरिक्षक बिरेन्द्र बोहराले बिहीबार बिहानमात्रै शवको पोष्टमार्टम हुने जानकारी दिए । उनले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भईरहेको जिकिर गरे । लकडाउनका बेला बन्द रहेको होटलमा भएको सो घटना निकै रहष्यमयी भएको स्थानीय बताउछन । मृतक युवतीका आफन्तहरुले प्रहरी जवान चौधरीका नाममा किटानी जाहेरी दिने तयारी गरिरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्