‘होम क्वारेन्टाइन’ ले छेकेन कोरोना



न्युज अफ नेपाल,हेटौंडा ।

चौकीटोलको उक्त परिवार करिब १ वर्षदेखि चितवनको भरतपुरमा रहँदै आएको थियो । कम्प्युटरको काममा केही दख्खल भएका पति त्यहीं काम गर्ने भएपछि उनी पनि सँगै चितवन गएकी थिइन् । त्यहाँ उनीहरु डेरामा बस्थे ।

लकडाउन लम्बिएपछि दम्पत्तिले आफ्नै घर गएर बस्ने निर्णय गरे । र, स्थानीय जनप्रतिनिधिको अनुमति मागे । तर, यो विषम परिवेशमा वडा अध्यक्ष सबिन न्यौपानेले अनुमति दिनुभएन र केही समय त्यहीं (चितवन) मै लकडाउनको पूर्णपालना गर्दै सुरक्षित रहन आग्रह गर्नुभयो ।

तर, दम्पत्तिले मानेन । सोही दिन जेठ ९ गते नै राति उनीहरु खाद्यान्न बोकेको एक गाडीमा हेटौंडा झरे । यो खबर पाएपछि वडा अध्यक्ष न्यौपानेले दम्पत्तिलाई तत्काल हेटौंडा अस्पतालमा ज्वरो जाँचपछि हेटौंडा–४ स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्डमा पठाउनुभयो ।

त्यहाँ एक रात रहेपछि उनीहरु ‘होम क्वारेन्टाइन’ मा बस्ने भन्दै आफ्नो घर आएका थिए । आइसोलेसनमा रहँदा स्वाब संकलन भयो । महिलाको स्वाब परीक्षणको नतिजा बुधबार पोजेटिभ देखियो ।

त्यसको नतिजा नआउँदै उनीहरुलाई घर फर्काउँदा जोखिम बढेको भन्दै वडा अध्यक्ष न्यौपानेले दुःख व्यक्त गर्नुभयो । ‘नतिजा आउनुअगावै घर पठाइदिँदा यसले जोखिम बढाएको देखियो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार ती महिलामा चितवनमै रहँदा कोरोना संक्रमण भएको हुनसक्छ ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । आइसोलेसन वार्ड र घरमा रहँदाको अबस्थामा उनीहरु धेरै व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेको देखिन्छ ।

नतिजा पोजेटिभ देखिएपछि कोरोना संक्रमित करिब २५ वर्षीया महिलालाई चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पताल पठाइएको छ । संक्रमित महिलाको तीन तले घर सिल गरिएको छ ।

कोरोना संक्रमित महिलामा ५ महिनाको गर्भ रहेको बताइएको छ । करिब ३ वर्षअघि उनको विवाह भएको र उनी पहिलो सन्तानको प्रतीक्षामा छिन् । उनको माइती हेटौंडा नजिक मकवानपुरको हटिया रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

उनको कन्ट्याक्ट ट्रेसिङ गरिएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । ती महिलाको उनलाई कोरोना पोजेटिभ देखिएपछि पतिको स्वाब संकलन गरिएको र चौकीटोलबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

ती महिला हेटौंडामा कोरोना संक्रमण देखिएकी दोस्रो व्यक्ति हुन् । यसअघि हेटौंडा–४ की करिब ५४ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उक्त नतिजापछि हेटौंडामा सुरक्षा चेक थप कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्