कामनाको पहलमा अभिनेत्रीहरूको अश्लील सामग्री राख्ने वेबसाइट बन्द

दोषीलाई ५ बर्ष कैद



विदुर गिरी, काठमाडौं ।

नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्को पहलमा नेपाली अभिनेत्रीहरूको अश्लील सामग्री राख्ने एक वेबसाइट बन्द गरिएको छ ।

नेपाली अभिनेत्रीहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि चलचित्र क्षेत्रमा ठूलै तनाव सिर्जना भएको थियो । सम्बन्धित निकायहरू यसबाट अनभिज्ञ पाइए पनि कामनाको पहलमा उक्त वेबसाइट मंगलबार साँझ बन्द गरेरै छाडियो ।

कामना टिमको दिनभरको प्रयासपछि सो साइट नेपालमा हेर्न नमिल्ने गरी बन्द गरिएको हो । राष्ट्रिय दैनिक नेपाल समाचारपत्र, सिने मासिक कामना, न्यूज पोटल न्यूज अफ नेपाल र हेल्थ डाइजेस्ट साधना मासिकको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स् प्रालिको कामना टिमले दिनभर सांसद, मन्त्री, पूर्वमन्त्री, प्रेस काउन्सिल नेपाल, सूचना विभाग, दूर सञ्चार प्राधिकरण, चलचित्र विकास बोर्डलगायतसँग समन्वय गरेपछि साँझमा मात्र आपत्तिजनक साइट बन्द गराउने सफलता मिलेको हो ।

अभिनेत्रीहरूको अश्लील सामग्री आएपछि नेपाल समाचारपत्रले विभिन्न निकायसँग सम्पर्क गर्दा तीनका पदाधिकारीहरूले यसबारे अनभिज्ञता प्रकट गरे। एनिमेसनको प्रयोग गर्दै शरीर टाउको एउटाको र अनुहार अर्कैको राखेर अभिनेत्रीहरूको नक्कली अश्लील भिडियो सार्वजनिक गरिएसँगै कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघ दबाबमा आयो र मंगलबार संघको नेतृत्वमा एक टोलीले कलाकारहरूको यस्तो अश्लील भिडियो बनाई भ्रम सिर्जना गरेर चरित्र हत्या गर्ने अपराधीको छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न महानरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दर्ता गरायो ।

पीडित कलाकाहरूका तर्फबाट संघका अध्यक्ष रवीन्द्र खड्काले उजुरी दर्ता गराएपछि महाशाखा प्रमुख, एसएसपी दीपक थापाले साइबर क्राइमको टोलीलाई बोलाएर एक्सनमा उत्रिन निर्देशन दिए ।कलाकर्मीहरू ती सामग्री अपलोड गरेर नेपाली अभिनेत्रीहरूको हुर्मत लिन खोज्ने अपराधीलाई कारबाही माग गरिरहेकै बेला कामनाको टिम भने विशेष अभियानमा जुट्यो ।

अन्ततः कामना टिमको पहलमा ती अश्लील सामग्री अपलोड गरिएको वेबसाइट कम्तीमा नेपालमा हेर्न नमिल्ने गरी मंगलबार साँझबाट बन्द भएको छ । यो अभियानअन्तर्गत कामना टिमले बिहानदेखि कलाकर्मी, सांसद, मन्त्री, पूर्वमन्त्रीहरूका साथ सम्बन्धित निकायहरूसँग सम्पर्क ग¥यो ।

त्यस क्रममा सूचना विभागका महानिर्देशक लेखनाथ शर्माले यस सम्बन्धमा उजुरी नआएको र उजुरी पर्नासाथ सक्त दूर सञ्चार प्राधिकरणलाई भनेर उक्त साइट बन्द गर्ने जानकारी दिनुभयो । ‘प्रेस काउन्सिल नेपालमा अनलाइन उजुरी दिनुभए हुन्छ, मन्त्रालय र मलाई बोधार्थ मात्र दिए पुग्छ, हामी कारबाही चलाइहाल्छौं ।’ –शर्माले कामना टिमसँग भन्नुभयो ।

नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्षरूपमा हेर्ने सरकारी निकाय चलचित्र विकास बोर्ड हो । बोर्ड अहिले अध्यक्षविहीन छ । सरकारले बोर्ड अध्यक्षका लागि आवेदन लिई नेतृत्व चयन गर्न प्रक्रिया अगाडि बढाइरहेको छ । बोर्डका सदस्य तथा चलचित्र लेखक एवं निर्देशक दयाराम दाहालले पनि बोर्ड अध्यक्षका लागि आवेदन दिनुभएको छ ।

कामना टिमले उनैलाई सोध्यो– ‘अश्लील भिडियोका कारण यत्रो तहल्का मच्चिइरहेको छ । यो वेबसाइट बोर्डसँग सम्बन्धित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग समन्वय गरी कम्तीमा अहिलेलाई नेपालमा त तत्काल बन्द गर्न सकिन्छ नि ?’ दाहालले बोर्डका सदस्य–सचिव महेन्द्र संखीसँग सल्लाह भइरहेको र यसका लागि पहल गर्ने बताउनुभयो । लगत्तै सदस्य–सचिव संखीसँग सम्पर्क गरियो र त्यही प्रश्न दोहो¥यायो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कानुन शाखा प्रमुख एवं उपसचिवसमेत रहनुभएका संखीले केही समयअघि मात्र यसबारे जानकारी पाएको र दूूर सञ्चार प्राधिकरणसँग समन्वय गरी तत्काल बन्द गराइने प्रतिक्रिया दिनुभयो । प्रतिक्रिया दिएसँगै उहाँ तत्काल एक्सनमा आउनुभयो र प्राधिकरणसँग समन्वय गर्नुभयो । संखीको पहलमा प्राधिकरणले सबै इन्टरनेट प्रदायकलाई निर्देशन दिएको केही घन्टापछि उक्त साइट नेपालमा हेर्न नमिल्ने गरी बन्द भएको छ ।

प्रहरीमा उजुरी गर्दै कलाकार संघको टोली
महेन्द्र संखी

‘यसबारे थाहा पाउनासाथ दूर सञ्चार प्राधिकरणका अध्यक्षसँग समन्वय गरी अब यो साइट नेपालमा हेर्न नमिल्ने बनाइएको छ । बाहिरी देशमा पनि हेर्न नमिल्ने बनाउनका लागि प्राधिकरणको सहयोगमा थप प्रक्रिया पूरा गरिनुपर्छ ।’ –संखीले भन्नभयो । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यो पहलका लागि कामना टिम र सम्बन्धित निकायहरूप्रति आभार व्यक्त गर्दै अब कहींकतैबाट पनि ती नक्कली भिडियो हटाउन संघले पहल गर्ने बताउनुभयो ।

उक्त अश्लील वेबसाइटले लगातार दुई अभिनेत्रीको नक्कली अश्लील भिडियोलगायतका अश्लील सामग्री अपलोड गरेपछि नेपाली कलाकर्मी आतंकित भएका थिए । अश्लील चलचित्रका कलाकारको शरीरमा नेपाली अभिनेत्रीको टाउको जोडेर अश्लील भिडियो तथा तस्वीर अपलोड गरिएपछि यस्तो कुकृत्य गर्ने साइबर अपराधीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने आवाज कलाकर्मीले उठाएका छन् ।

एक नेपाली अभिनेत्रीपछि अर्की अभिनेत्रीको नक्कली अश्लील भिडियो सार्वजनिक भएको थियो । एक अभिनेत्रीको दुई अश्लील भिडियो सो साइटमा अपलोड गरिएको थियो भने अर्की अभिनेत्रीको पाँच नक्कली भिडियो अपलोड गरिएको थियो । साइटको नाममै फेक (नक्कली) जोडिएको सो पोर्न साइटमा पोर्न कलाकारका साथमा हलिउड र बलिउडका नायिकाहरूको नक्कली अश्लील भिडियो राखिएको छ ।

दोषीलाई ५ बर्ष कैद

दुई नेपाली अभिनेत्रीको नक्कली पोर्न भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यस्ता भिडियो बनाउने व्यक्तिको खोजीलाई तीव्र बनाएको छ ।

केही समयदेखि नेपाल र भारतका ह्याकरहरूले एकले अर्को देशका बिभिन्न बेवसाइड ह्याक गर्ने गरेपछि नेपाल प्रहरीले सजकता अपनाइरहेका बेला दुई नेपाली अभिनेत्रीको उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यस्तो भिडियो बनाउने नेपाली नागरिक हुन् वा भारतीय हुन् उनीहरूका बारेमा अनुसन्धान गरिरहेको छ ।

महानरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले अनुसन्धानलाई तीव्र बनाएको जानकारी दिनुभएको छ । उहाँले यदि उक्त भिडियो नेपाली नागरिकले बनाएको भए जुनसुकै देशबाट पक्राउ गरी नेपाल ल्याएर कारबाही गर्ने जानकारी दिनुभयो ।
यदि विदेशी नागरिक रहेछन् भने काउन्टरपार्टसँग कुरा गरेर त्यही देशको कानुनअनुसार कारबाहीका लागि आग्रह गरिने जानकारी दिनुभयो ।

नेपाली नागरिकले उक्त भिडियो बनाएको पत्ता लागेमा विद्युतीय कारोवार ऐन–२०६४ अनुरूप ५ वर्ष जेल सजाय हुने उहाँले जानकारी दिनुभयो । अहिले नेपाल प्रहरीको साइबर ब्युरोले उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।प्रहरीको सक्रियतामा अहिले उक्त साइट बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्