भित्रै बस !



नारायण खनाल

मालारानी-३, अर्घाखाँची ।

(कविता)

पथिकहरु
पथ भुल्दैछन्
त्यागिहरु
मति पोल्दैछन्
अौषधिहरु आफै भ्रष्ट बन्दा
मास्कले लाजले
मास्क लगाउँदै छ
भगवान त आशिष दिन
हिचकिचाउने बेला
डाक्टर साहेवको कुरा नगर
सकेजति गरेकै छन्
अझ सेवा भाव पलाओस्
कामना छ
तिम्रो पेट भोकाएर
खप्न नसकि
ज्वरो आयो भने
तातोपानी खाउ
बाहिर कोरोना अा छ
भित्रै बस ।

गगन चुम्बि निजी महल
गोजी छामेपछि
सरकारी अस्पताल पठाउँछन्
सरकारी अस्पताल भन्छ
जडिबुटी पाइएन
सुरक्षा सामग्रीमा किरा लागेको छ
त्यो अौषधि न सुँघ
विषादी छरेको छ
जनता बबुरा
किरा खाउँ कि विषादी
भएका छन्
तैपनि
सम्हाल आफैंलाई जन हो
जीउ त आखिर सरकारी न हो
सरकारको भर पर
पीडाले मन जति दुखेपनि
तातोपानी खाउ
बाहिर कोरोना आ छ
भित्रै बस ।

हे ! श्रमजीवी हो
कामधाम छैन
बन्दाबन्दि छ
काम बिनाको माम
कसरी सम्भव छ ?
भोकै बस्न सक्ने बन
के गर्नु
दुखमा रमाउने बानी पार
हेर !
तिम्रै नाममा
बल ,अझ बलवान् बन्दैछ
त्यसैले
कमजोर पाखुरी नदेखाउ
भोकप्यासले सन्तान रुँदा
बरु आफै मुन्टो निहुराउ
तातोपानी खाउ
बाहिर कोरोना अा छ
भित्रै बस ।

जीउ तात्यो
बान्ता भयो
सिँगान आयो
खोकी लाग्यो
छिमेकीले साँध सार्नाले
पीडाबोध भइ
छाती दुख्यो
निसास्सियो
अहँ, कतै नजाउ
नकचराहरु
ढोंगीहरु भन्दैछन्
तिमी छोइए छोइछिटो लाग्छ
त्यसैले
तातोपानी खाउ
मनोबल बढाउ
व्यायाम गर
आँखिझ्याले पछ्यौरीले
भोको पेट कसेर
चित्त बुछाउ
बाहिर कोरोना अा छ
भित्रै बस ।

पर्ख !
आउनेछ त्यो दिन
माटोले बीउ पाउने
श्रमले मूल्य पाउने
सरकारी अस्पतालमा
अौषधि पाउने
पेटले अन्न भेटाउने
निजी अस्पतालहरु
मुख मात्रै मिठाउने
-याल मात्रै काढ्ने
सन्तानले आमाको काख पाउने
कर्मठले मातृभूमि टेक्ने
शासकले
समृद्धिको गोरेटो भेट्ने
जनताको मन बुझ्ने
त्यसैले
कठोर बन
साहसी बन
एकताबद्ध होउ
तातोपानी खाउ
बाहिर कोरोना अा छ
भित्रै बस ।

प्रतिक्रिया दिनुहोस्