जोरपाटी–सुन्दरीजल सडक विस्तार ठप्प



नेपाल समाचारपत्र, काठमाडौं ।

लकडाउनपछि ठप्प रहेको जोरपाटी–सुन्दरीजल सडक विस्तारको काममा पछिल्लोपटक केही खुकुलो भई काम सुचारु रहे पनि हप्ता दिन अघिदेखि भने उक्त कार्य फेरि ठप्प भएको छ ।

लकडाउनपछि ठप्प बनेको विस्तारको कामलाई सरकारले सुचारु गर्न खुकुलो पारेपछि गोकर्णमा कोरोना संक्रमित भेट्टिएपछि उक्त क्षेत्र सिल गरेसँग सडक विस्तारको काम पनि ठप्प भएको हो ।

गोकर्णका ५८ वर्षीय पुरुषमा अघिल्लो हप्ता जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित बस्ने गोकर्णेश्वर नगरपालिका–४ नै सिल गरिएको थियो । त्यसपछि त्यहाँ चहलपहलसमेत रोकिएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार योजनाले जोरपाटी–सुन्दरीजल खण्डको सडक विस्तारको क्रममा ह्युमपाइप राख्दै ग्राभेल गर्ने कार्य गरिरहेको थियो ।

लडकडाउन अवधिमा करिब दुई किमि खण्डमा ह्युमपाइप राखेको योजनाका इन्जिनियर लक्ष्मण देवकोटाले बताउनुभयो । सात किमि खण्डमा ह्युमपाइप ओछ्याउने र सडकमा ग्राभेल गर्ने लक्ष्य थियो ।

‘लकडाउनसँगै बीचमा काम भएको थियो । गोकर्णमा कोरोना संक्रमित भेट्टिएपछि उक्त क्षेत्र सिल भयो । अहिले सडकको काम पूरै ठप्प छ ।’ –योजनाका इन्जिनियर देवकोटाले बताउनुभयो ।

वडा–४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म सडक विस्तारको काम हुन नसक्ने जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का लगाए पनि मुआब्जाको विवादले त्यस सडकमा गर्दा सडक विस्तारको काम हुन सकिरहेको थिएन ।

सरकारले पछिल्लोपटक उक्त सडक खण्डको विस्तार कार्यका लागि ५८ करोड रुपियाँ विनियोजन गरिसकेको थियो । चालू आवभित्र ह्युमपाइप बिच्छ्याउने र ग्राभेल हाल्ने कार्य सम्पन्न गर्ने लक्ष्य तोकिएको थियो । लकडाउनका कारण सडकको तोकिएको लक्ष्य पूरा हुन नसकिने देखिएको योजनाका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्