भोकभोकै कोरोना संक्रमित

परीक्षण छैन, अस्पताल चर्को शुल्क नलिई छोड्दैन



भगवती तिमल्सिना, काठमाडौं ।

कोरोना भाइरसले सिर्जना गरेको लकडाउनका कारण आम नेपालीले कुन हदसम्मको पीडा भोगिरहेका छन्, बुझ्नका लागि सर्लाहीका रामाशिष शाह (नाम परिवर्तन) को कथा प्रतिनिधिमूलक हुनसक्छ ।

तीन स–साना छोराका ३८ वर्षे रामाशिष भारतको मुम्बईमा रिक्सा चलाउँथे । लकडाउनले लखेटेपछि उनी श्रीमती र बच्चालाई बोकेर कतै हिँड्दै र कतै केही साधन चढ्दै भारतको सीतामढीनिकट कानपुरमा आइपुगेपछि ट्याम्पु दुर्घटनामा परे । परिवारका अरु त जोगिए, तर उनका दुवै गोडा र कम्मरमा गम्भीर चोट लाग्यो । नेपाल प्रवेश गर्दागर्दै सर्लाहीको कविलाशी–१ मा रहेको घरै नपसी बालक छोराहरुलाई हजुरआमाको जिम्मामा क्वारेनटाइनमा बस्न छोडेर भाइ र श्रीमतीका साथ काठमाडौं आए ।

उपचारका लागि यतिबेला काठमाडौंका थुप्रै अस्पताल पुग्दा पनि उपचार त परैजाओस् तीन दिनसम्म एकछाक खानसमेत नपाएर उनी रुँदै, कराउँदै र छटापटाउँदै बस्न बाध्य भए । एकसाताअघि दुर्घटनामा परेका रामाशिष भन्छन्– ‘भारतमा खुट्टाको अपरेसन गर्न लाग्ने पैसा नभएपछि एकजना साहुसँग १० हजार सापटी मागेर सोनवर्षा हँुदै गत जेठ ६ गते नेपाल आइपुग्यौं । उनलाई मलंगवाकै एक एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइयो ।

‘दुवै खुट्टा र मेरुदण्ड भाँचिएको मजस्तो बिरामीलाई नेपालको हाडजोर्नीको उपचार हुने सरकारी ठूलो अस्पताल ट्रमा सेन्टर ल्याउने भनेका थिए तर एम्बुलेन्स चालकले बल्खु रोडमा रहेको राजधानी नामको प्राइभेट अस्पतालमा सस्तो र राम्रो उपचार हुन्छ भनेर छोडिदियो । अस्पताले भारतबाट आएको मान्छे भनेर कोरोना परीक्षण ग¥यो ।

रिपोर्ट नआएसम्म कुनै उपचार गरेन । त्यतिन्जेल मेरो भाइ र श्रीमतीबाट अस्पतालते भएभरको सबै ८० हजार रुपियाँ लिइसकेको थियो । अझै १० हजार पुगेन भनेर मेरो नागरिकता बन्धकी राखेर पैसा ल्याएपछि नागरिकता लैजाने कागज गराएको छ । उपचारका नाममा तीन दिनसम्म मलाई सिटामोल दिनेबाहेक केही गरेनन् । अझै पैसा तिर्न बाँकी छ रे प्राइभेट अस्पताल भनेका गरिबलाई लुट्नै बसेका रहेछन् ।’ –उनी गुनासो गर्छन् ।

रामाशिषका भाइ शंकर भन्छन्– ‘एम्बुलेन्स चालकले पनि हामीसँग १४ हजार भाडा र खानाबापत थप ५ सय लियो तर बिल दिएन ।

नेपालमा यसरी एम्बुलेन्स चालककले प्राइभेट अस्पताललाई बिरामी बेच्दारहेछन् । चालकले बिरामीसँग अस्पताल दुवैतर्फबाट पैसा पाउने भएकै कारण सरकारी अस्पताल हिँडेका बिरामीलाई प्राइभेटमा पु¥याउँदा रहेछन् ।’

‘तपार्इं भारतबाट आएकाले स्वाब परीक्षण गर्नुपर्छ भनियो । परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखियो । त्यसपछि मेरो खुट्टाको अप्रेसन हैन अस्पताल नै सार्ने भनेर एम्बुलेन्स बोलाए र पाटन अस्पताल पठाए । पाटन अस्पतालमा बेड खाली रहेनछ, मलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पठाइयो ।’ –उनी भन्छन्।

रामाशिषले सोमबार बिहान नेपाल समाचारपत्रसँग रुँदै केएमसी अस्पतालमा त मलाई मार्छ जस्तो छ अहिलेसम्म न कुनै उपचार नै गरेको छ न खाना खान नै दिन्छ । एउटा कोठामा म, मेरी श्रीमती र भाइलाई थुनेर राखेको छ । बाहिर जान पनि दिँदैन भन्दै फोनमै डाँको छोडेरै रोए । ‘अहिले हामी तीनै जना भोकभोकै मर्ने अवस्थामा पुगिसक्यौं । राजधानीले पैसा थप पैसा थप भन्यो हामीले पैसा थप्न नसकेपछि एम्बुलेन्स बोलाएर निकालिहाल्यो ।’ –उनले बताए ।

रामाशिषकी श्रीमती र उनका भाइ शंकर पनि उसरी नै रुँदै भन्छन्– ‘मेरो स्वाब परीक्षण गरिदिए म घर गएर पैसा ल्याई दाजुको उपचार गर्ने थिएँ। यहाँ हाम्रो कसैलाई मतलव छैन । म तीन दिनसम्म दुई बाक्सा पानी र एक कप चियाको भरमा बसें । दाइ भोकले रुन थाल्नुभयो दिने कुरा केही थिएन त्यही पानी दिएँ । दाजु डाँको छोडेर रोएको सुनेपछि अस्पतालका एक कर्मचारी ढोकामा आएर भने दुखेको भए खुट्टामा बाँधेको ब्यान्डेज फुकाउ ठीक हुन्छ । मैले भनें– ‘दाइलाई भोक लागेर रुनुभएको हो । उनले क्यान्टिनको फोन दिए तर क्यान्टिनका मान्छेले खाना हैन गाली दिए । एकदिन तीन जनाका लागि एक प्लेट खाना र दुई कप चिसो भइसकेको चिया दिए त्यति हो ।’

रामाशिषको रोदन उनका आफन्तले पनि सुने र आफन्तको आग्रहमा रवि र उनकी श्रीमती, भाइलाई सोमबार दिउँसो २ बजे पुनः पाटन अस्पताल पु¥याइयो । शंकर सुनाउँछन्– ‘पाटन अस्पतालको व्यवहार राम्रो छ, यहाँ पुग्नासाथै एकजना सिस्टरले किन अँध्यारो अनुहार लगाएको, केही हुन्न ठीक भइहाल्छनि भन्दै पाँच मिनेटमै दाल, भात, तरकारी अचार, पापडसमेत ल्याइदिनुभयो ।

उहाँले देखाउनुभएको मानवीयताले मेरो आँखाबाट बरर् आँसु झ¥यो । उहाँले सम्झाउँदै भन्नुभयो– अब सबै ठीक हुन्छ । खाना खाएर आराम गर्नुस् भन्नुभयो । दाजु भाउजूलाई माथि कोठामा राखियो मलाई तल कोठामा राखिएको छ अब त मेरो दाजु बाँच्नुहुन्छ कि। यहाँ कुनै पैसाको कुरा पनि गरिएन र नागरिकता छ कि छैन पनि सोधिएन । मेरो स्वाब संकलन गरेर परीक्षणका लागि पठाइसकिएको छ । मेरो रिपोर्ट आउँनासाथ म गाउँ गएर आफन्त, शुभचिन्तकहरुसँग गुहारेर भए पनि दाजुको उपचारमा यति पैसा लाग्यो भनेर नागरिकता जमानी राख्ने अस्पताललाई तिर्नुपर्छहोला।’

आईसीयूमा राखेर उपचार गर्दा पैसा त लागिहाल्छ नि: राजधानी अस्पताल
‘रामाशिषलाई चार दिन आईसीयूमा राखियो, खुट्टाको अप्रेसनका लागि हामी तयारै थियौं, कोरोना पोजिटिभ देखियो त हामीलाई के भन्नुहुन्छ?’, राजधानी अस्पतालका कर्मचारीले फोनमा नेपाल समाचारपत्रलाई ठाडो जबाफ दिए– ‘रिपोर्ट नेगेटिभ आएको भए यहीं उपचार हुन्थ्यो, पोजेटिभ आयो त हामीले के गर्ने?’ सोमबार २ बजे दिउँसो फोन उठाउने ती कर्मचारीले जति अनुरोध गर्दा पनि नामचाहिँ भनेनन् । तर बिरामीको नागरिकता जमानत राखेर मात्र जान दिएको चाहिँ स्विकारे ।

प्रतिक्रिया दिनुहोस्