नेपाली पत्रकारितामाथि लेप र आरोप



नवराज पथिक
मोफसलमा बसेर पत्रकारिता गरेको झन्डै तीन दशक हुन लागेछ । २०४६ सलको आन्दोलनले नेपालमा एकतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको अत्य गरी नेपालमा बहुदलीय शासन व्यवस्था स्थापित भयो । बहुदलीय शासन व्यवस्था स्थापना भएपछि पञ्चायतको कडा निगरानीमा रहेको नेपालको पत्रकारिताले फस्टाउने मौका पायो ।

केन्द्रबाट मात्र हैन मोफसलबाट पनि पत्रिकाहरु निस्कन लागे । पत्रकार र पत्रकारिता आर्थिकरुपमा खासै राम्रो नभए पनि सामाजिक प्रतिष्ठाको हिसाबले सम्मानित पेसा बन्यो । छापा पत्रकारितामा राष्ट्रिय स्तरमा साप्ताहिक पत्रिकाका साथै समाचारपत्र, लोकपत्र, कान्तिपुर, स्पेसटाइम्स, हिमालयटाइम्स, सगरमाथाजस्ता दैनिक पत्रिकाहरु केही समयको अन्तरालमा २०४८ सालदेखि २०५२ सालको बीचमा धमाधम प्रकाशित भए ।

यसले पत्रकारिताप्रतिको आकर्षण शहरदेखि मोफसलसम्म बढायो । धेरै युवाहरु जानी नजानीपत्रकारितामा होमिए । पत्रिका समाजको विम्ब बन्यो । गाउँ–गाउँका आवाजहरु पत्रिकामा आउन लागे । गाउँका समस्या शहरमा पुगे । २०४८ सालतिर हातले कागजमा लेखेका समाचार हुलाकबाट रजिस्टर गरी जिल्लादेखि काठमाडौँ पठाउँदा र काठमाडौँमा समाचार छापिएका पत्रिका तीन दिनपछि जिल्लामा आएर बाइलाइन पढ्दाको मज्जा नै अर्कै हुन्थ्यो ।

मैले समाचारपत्रको स्थापनाको बेलामा समाचारपत्रका रिपोर्टरको रुपमा काम गर्दा एक–डेढ हप्ता गाउँ घुम्यो । गाउँका कथा जम्मा ग¥यो ।घर फर्कियो, गाउँका कथा र गाउँलेका व्यथाका तस्वीरहरु कागजमा उता¥यो । अनि प्रकाशनको लागि काठमाडौँ पठायो । त्यतिबेला कसले जित्ने भन्दा पनि कसले राम्रा कथा ल्याउन सक्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । पत्रिकामा छापिएको समाचारको कटिङ फ्रेममा हालेर गाउँघरका दलानमा टाँसेका भेटिन्थे । कागज र शब्दप्रति त्यति धेरै स्नेह थियो । तर नेपाली बजारमा ठूला साइजका दैनिक पत्रिकाहरु त्यति टिक्न सकेनन् । क्रमशः राष्ट्रिय दैनिक पत्रिकाहरु बन्द भए । अहिले त्यस बेला निस्किएका केही पत्रिका मात्र चलेका छन् । तीमध्ये एक दुईबाहेक अन्य पत्रिकाहरु जीवन–मरणको लडाइँ लड्दै बजारमा देखिइरहेका छन् ।

अहिले नेपाली पत्रकारिताको स्वरुप बदलिएको छ । देशमा दर्जनौँ टेलिभिजन खुलेका छन् । जिल्ला–जिल्लामा मात्र हैन गाउँ–गाउमा समेत रेडियोहरु खुलेका छन् । झोला–झोलामा साप्ताहिक पत्रिका दर्ता भएर सञ्चालन भएका छन् । त्यो भन्दा पनि स्मार्ट फोनको प्रयोगसँगै अनलाइन मिडियाको क्रेज अहिले ह्वात्तै बढेको छ । अझ अनलाइन टिभी, सामाजिक सञ्जाल, पोर्टलहरुको आ–आफ्नो ठाउँमा आ–आफ्नो भूमिका छँदै छ ।

हिजोजस्तो लाख्छ, मोफलसलका खबर थाहा पाउन हप्तौँ कुर्नुपथ्र्यो । कतिपय घटना, दुर्घटनाहरु त सर्वसाधारणले थाहा नै पाउँदैनथे । गाउँमा पत्रिका पुग्न महिनौं लाग्थ्यो । समाचारको एकमात्र माध्यम रेडियो नेपाल, त्यो पनिकहीँ सुनिन्थ्यो भने कहीँ सुनिदैनथ्यो । सुनिए पनि रेडियोमा समाचार सुन्ने कसलाई फुर्सद ?लोगगीत आएका बेला घन्कने रेडियो समाचार आएपछि बन्द हुन्थे । आमाले भन्ने गर्नुहुन्थ्यो,‘अब समाचार आयो केही आउँदैन, रेडियो बन्द गरिदेओ ।’ बाले भन्नुहुन्थ्यो,‘हैन एकैछिन् समाचार सुनौँ न ।’ तर आज सञ्चार र समाचार मानव जीवनको अभिन्न अंग बनेको छ ।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनामा अहम् भूमिका निर्वाह गर्ने नेपाली पत्रकारिताभित्र विकृति पनि भित्रँदै गएका छन् । यसले गर्दा नेपाली पत्रकार र पत्रकारिताआलोचनाको पात्र बन्दै गएको छ । नेपाली पत्रकारले लेखेका समाचारहरुको विश्वसनीयता घट्दै गएको छ । पत्रकार र पत्रकारितालाई विभिन्न आरोप र लेप लाग्ने क्रम बढ्दै गएको छ । हिजोपत्रिकामा छापिएका र रेडियोले बोलेका कुरालाई ढुंगाको अक्षर मान्ने नेपाली समाजको पत्रकारिताले अहिले बिस्तारै विश्वास गुमाउँदै गएको छ । पत्रकारले सकारात्मक विषयको उठान ग¥यो भने ‘कति खायो अनि उठायो’ र नकारात्मक कुरा उठायो भने‘खान पाएन अनि उठायो’ भनी पगरी गुथाइन्छ ।

पत्रकार र पत्रकारितालाई विभिन्न आरोप र लेप लाग्ने क्रम बढ्दै गएको छ । हिजोपत्रिकामा छापिएका र रेडियोले बोलेका कुरालाई ढुंगाको अक्षर मान्ने नेपाली समाजको पत्रकारिताले अहिले बिस्तारै विश्वास गुमाउँदै गएको छ । पत्रकारले सकारात्मक विषयको उठान ग¥यो भने ‘कति खायो अनि उठायो’ र नकारात्मक कुरा उठायो भने‘खान पाएन अनि उठायो’ भनी पगरी गुथाइन्छ ।

के हामी खत्तम भएकै हौँ त ?
पछिल्लो समय नेपाली पत्रकार र पत्रकारिताप्रति हुने आम सामाजिक टिप्पणीहरुलाई हेर्दा हामी नेपाली पत्रकारहरु साँच्चै खत्तम भयौँकि झैँ लाग्छ । साँच्चै हामी सबै पत्रकार दलाली र भ्रष्ट नै भएका हौँ त ? अवश्य हैन, अझै पनि नेपाली पत्रकार र पत्रकारिता समाजको ऐना बन्न सक्छ । रातको अँध्यारो चिर्ने चन्द्रमामा त कालो धब्बा छ भने पत्रकारिता पनि खारेर कसी लगाएको सुनजस्तो चोखो पक्कै छैन । कतिपय मानिसहरु पत्रकारिताको खोल ओढेर अर्कै धन्दा गर्न पनि पत्रकारितामा लागेका छन् ।

यसभन्दा आफूले झन्डै ३० वर्षदेखि गर्दै आएको पेसाप्रति वितृष्णा जागेर आउँछ । तर गंगाको पानीको पवित्रता बहेरै कायम हुने हो ।पत्रकारिताको महासागरमा बग्दै जाँदा कसहरु पाखा लाग्दै जान्छन्, पवित्र पानी बग्दै जान्छ । यसको लागि समुदाय र आम नेपाली पाठक अनि दर्शकहरुले पनि सहयोग गर्नुपर्छ । खराबलाई किटान गरेर खराब भन्न सक्नुपर्छ, राम्रोलाई राम्रो भन्न पनि धक मान्नुहुन्न ।

सबैलाई एउटै बोरामा हाल्यो भने पत्रकारिता मर्छ, पत्रकारिता मर्दा नागरिकको सूचनाको अधिकार मर्छ । जब सूचनाको अधिकार मर्छ, प्रजातन्त्र पनि मर्छ । प्रजातन्त्र मरेपछि तानाशाह जन्मिन्छ र नागरिकले चुँ पनि गर्न पाउँदैनन् । के हामीले पत्रकार र पत्रकारितालाई गाली गरेर यतै जान लागेको हो त ? एकपटक ठण्डा दिमागले सोचौँ ।
कहाँ सुधार्नुपर्छ ?

पछिल्लो समय नेपाली पत्रकारिताको जसरी आलोचना भइरहेको छ, त्यो त्यसै पक्कै भएको छैन । यसमा हामीले सुधार्ने र सुध्रनुपर्ने धेरै छ । वास्तवमा हामीलाई सञ्चार र प्रविधिले अल्छे बनाएको छ । नागरिक र पत्रकारबीचका दूरी बढ्दै गएको छ । नागरिक र पत्रकारबीचको भेटघाट पातलिएको छ । पत्रकारले नागरिक र नागरिकले पत्रकारले चिन्न छाडेको छ ।

पत्रकार गाउँ जान छाडेका छन् । गाउँका विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउन छाडेका छन् । राजनीतिक दलका नेताको भाषण हाम्रा सञ्चारमाध्यमका प्राथमिकताका विषय बनेका छन् । जो नेपाली पाठक र दर्शकले पटक्कै मन पराएका छैनन् । त्यसैले नेता र राजनीतिप्रतिको आक्रोशको सिकार बारम्बार पत्रकारहरु हुने गरेका छन् । त्यसैले पत्रकारिताले अब यसलाई सच्याउनुपर्छ ।

सञ्चारमाध्यममा कपी पेस्ट मौलाएको छ । एउटा सञ्चारमाध्यममा आएको विषयलाई दिनभरि सबै सञ्चारमाध्यमले कपी र पेस्ट गरेको देखिन्छ । सञ्चारमाध्यम जति बढे पनि विषयवस्तु बढ्न सकेका छैनन् । जुन–जुन मिया हेरे पनि एउटै कुरा आइरहन्छ । यसले हाम्रा श्रोता, दर्शक र पाठकलाई नयाँपन दिन सकेको छैन । वास्तवमा नयाँ विषय दिन नसक्ने हो भने नयाँ सञ्चारमाध्यम र यति धेरै सञ्चारमाध्यम के काम ? सञ्चारमाध्यम च्याउसरी उम्रने तर नयाँ विषय केही दिन नसक्ने, अनि बढ्दैन त नागरिक आक्रोश ! राष्ट्रियदेखि जिल्लासम्मका रेडियो र अनलाइनले एउटै समाचार कपी र पेस्ट गरेर छाप्दै र बजाउँदै गरेपछि उडाउँदैनन् त

पाठक, श्रोता र दर्शकले खिल्ली?

यो भन्दा पनि पछिल्लो समय नेपाली सञ्चार माध्यममा को पहिलो भन्ने रोगको महामारी फैलिएको छ । पहिलो हुने नाममा पुष्टि नै नभएका समाचारहरु प्रसारण र प्रकाश गर्ने, सरोकारवालाको भनाइ नै नलिई समाचार हाल्ने, कुरै नभएको स्रोतलाई समाचार स्रोतको रुपमा प्रयोग गर्ने प्रचलन फस्टाउँदै गएको छ । यसले गर्दा समाचार एकातिर र वास्तविकता अर्काेतिर हुनजान्छ । यस्तो बेलामा पत्रकारको टाउको पनि फुट्न सक्छ, धन्न हामीले त गाली मात्र खाएका छौँ ।

हरेक नेपालीको प्राथमिकता राष्ट्रको सेवा र देशको समृद्धिमा केन्द्रित हुनुपर्छ । जो जुन ठाउँमा छ, त्यो ठाउँबाट राष्ट्रको समृद्धि र विकासको लागि आफूले सकेको योगदान दिनुपर्छ,चाहे त्यो पत्रकार नै किन नहोस् । हरेक नागरिकको कर्तव्य राष्ट्र र समाजमा समस्या सिर्जना गर्ने हैन, समाधान खोज्ने हुनुपर्छ । हाम्रो पत्रकारिताको समाधानभन्दा पनि बल्झाउन र मानिसलाई उत्तेजित बनाउन बढी केन्द्रित भएको छ । त्यसैले यसलाई रोक्नुपर्छ । अबको हाम्रो पत्रकारिता समस्यामुखी हैन, समस्या समाधानमुखी हुनुपर्छ । त्यसो भयो भने हाम्रो पत्रकारिता र पत्रकारले वाहवाही कमाउने छन् ।

प्रतिक्रिया दिनुहोस्