कोरोना बीमाप्रति बढ्दो आकर्षण, हालसम्म १ लाख ८५ हजारले गराए बीमा



परिवर्तन देवकोटा, काठमाडौं ।

मुलुकभर कोरोना बीमाप्रति आकर्षण बढेको छ । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न हुने आर्थिक असहजता न्यूनीकरणका लागि भन्दै मुलुकमै नयाँ प्रयोगका रूपमा ल्याइएको यस पोलिसीमा आकर्षण बढेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

बीमा समितिले कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिन सक्ने भन्दै महामारीबाट हुन आउने आर्थिक क्षतिलाई न्यूनीकरण गर्नका निम्ति कोरोना बीमा पोलिसी ल्याएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा नवीनतम बीमा पोलिसीका रूपमा ल्याइएको यस बीमामा आकर्षण बढ्दै गएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘हामीले महामारीले पार्न सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वमै नयाँ प्रयोग गर्ने अभ्यास गरेका हौं, जसमा अहिले आकर्षण बढ्दै गएको छ ।’

बीमा समितिले पारिवारिक रूपमा कोरोना बीमा गराउनका लागि आग्रह गर्दै आएको छ । ‘भाइरस संक्रमणका कारण परिवारमा हुन सक्ने आर्थिक संकट न्यूनीकरणका लागि पारिवारिक बीमाका लागि बढी केन्द्रित गराएका हौं ।’ –कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

समितिले कोरानाको पारिवारिक बीमा गर्नका लागि १ लाख रुपियाँ बिमाङ्कका लागि बीमा शुल्क प्रतिव्यक्ति ६ सय रुपियाँ कायम गरेको छ भने ५० हजार रुपियाँ बिमाङ्कका लागि पारिवारिक बीमामा प्रतिव्यक्ति ३ सय रुपियाँ कायम गरेको छ । यस्तै व्यक्तिगत बीमाका लागि ५ सय रुपियाँ कायम गरेको छ । मुलुकभर रहेका २० निर्जीवन बीमा कम्पनीले कोरोना बीमा गराउँदै आएका छन् ।

बीमा समितिको तथ्यांकअनुसार कोरोना बीमा गराउनेहरूमा संस्थाहरू नै बढी छन् । ‘विभिन्न किसिमका सरकारी तथा गैरसरकारी संस्थाहरूले आफ्ना सदस्यहरूले कोरोना बीमा गराउँदै आएका छन्’, समितिका कार्यकारी निर्देशक पौडेल भन्नुहुन्छ– ‘जुम्ला, हुम्लादेखि विकट गाउँसम्मका स्थानीय जनप्रतिनिधिहरूसमेतको कोरोना बीमा भएको छ ।’

‘अहिले संस्थागत बीमा गर्ने बढ्दै गएका छन्,’ उहाँले भन्नुभयो– ‘पारिवारिकरूपमा पनि बीमा गराउनेको संख्या बढ्दै गएको छ ।’

अहिलेसम्म कतिले गरे कोरोना बीमा ?
बीमा समितिको तथ्यांकअनुसार शनिबारसम्म कोरोना बीमा गराउनेको संख्या १ लाख ८५ हजार ६ सय ८२ रहेको छ । यस्तै कुल १४ हजार ३ सय ४० कोरोना पोलिसी बिक्री भएको छ ।
पोलिसी बिक्रीबाट हालसम्म १० करोड ३० हजार रुपियाँभन्दा बढी प्रिमियम संक्रलन भएको बीमा समितिले जनाएको छ

लक्षित वर्गमा पुग्यो त ?
कोरोना बीमा गर्नेको संख्यामा वृद्धि हुँदै गए पनि सीमिति क्षेत्रबाहेक ग्रामीण भेगमा पहुँच पुर्याउन समस्या भएको छ । बीमा कम्पनीहरूले आफ्ना शाखाहरूमार्फत बीमा गराउन तयार भए पनि मुलुकभर लकडाउन भएका कारण पनि पहुँच विस्तारमा समस्या निम्तिएको हो ।

हालसम्म अनलाइनमार्फत बढीले बीमा गराइरहेका छन्, अनलाइनबाहेकको विकल्पका लागि गाउँसम्म जान जोखिम हुने गरेको बीमा कम्पनीहरूले बताउँदै आएका छन् ।

बीमा कम्पनीकै कतिपय कर्मचारीले आफँहरूले रकम लिन गए पनि कोरोना संक्रमित हो कि भन्ने आशंका पैदा भएको गुनासो गर्दै आइरहेका छन् । यसका बाबजुद पनि कर्मचारीहरूले सामाजिक सञ्जाललगायतका विभिन्न विकल्प अपनाउँदै पहुँच विस्तारमा लागिपरेका छन् ।

बीमा गराउनेको संख्या बढ्दै गए पनि लक्षित वर्गमा पुर्याउन नसकिएको बीमा समितिका कार्यकारी निर्देशक पौडेल बताउनुहुन्छ । अनलाइनको पहुँच हुनेले बीमा गरे पनि अन्यलाई बीमा गराउन गाह्रो परेको उहाँले स्वीकार्नुभयो ।

‘हामीले अझै भारतलगायतका बाहिरी मुलुकबाट आएकाहरूमा कोरोना बीमा पुर्याउन सकेमा अझै प्रभावकारी हुने थियो । उनीहरूको आर्थिक क्षति न्यूनीकरणमा केही सघाउ पुग्यो तर त्यसो हुन सकिरहेको छैन ।’ –उहाँले भन्नुभयो ।

संक्रमितको संख्या बढे दाबी भुक्तानी कति सम्भव ?
बीमा समितिले मुलुकमा कोरोना बीमाको शुरुआत गर्दा कोरोना संक्रमितको संख्या एकदमै न्यून रहेको थियो । यद्यपि अहिले मुलुकमा संक्रमितको संख्या समाचार तयार पार्दासम्म ६ सय नाघेको छ । बीमा समितिका कार्यकारी निर्देशक पौडलका अनुसार अहिलेसम्मको अवस्थामा शीघ्र दाबी भुक्तानीका लागि बीमा समितिसँग स्रोत छ ।

यदी संक्रमितको संख्या अत्याधिकरूपमा बढ्दै गएमा के गर्ने वा स्रोत कसरी व्यवस्थापन गर्ने भन्नेमा बीमा समिति स्रोतको व्यवस्थापनका लागि छलफलमा व्यस्त हुने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्