बीपी कोइरालाबारे राम्ररी बुझियोस्



दिवंगत बीपी कोइरालाले राष्ट्रियताबारे थोरै बोलेका छन् र लेखेका छन् । तर उनी स्वयं नै राष्ट्रियताको भावले ओतप्रोत थिए, जसका लागि उनले जीवनलाई दाउमा लगाए, जीवनकै खतरा मोले । तर उनी अति राष्ट्रवाद, अन्धराष्ट्रवाद र संकीर्ण राष्ट्रवादको खिलाफमा थिए । उनले नेपाललगायत अन्य देशका शासक या नेताले जस्तो राष्ट्रियताको नारा दिएर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न खोजेनन् । उनले पराधीनताभन्दा सम्भावित मृत्यु रोजे, जेलजीवन रोजे ।
उनले भनेका छन्– राष्ट्र र राष्ट्रियता भनेको फगत माटो होइन, त्यो भौगोलिक क्षेत्रभित्र बस्ने जनता नै मुख्यरूपमा राष्ट्र हो । उनले भनेका छन्– जनता बलिया र समृद्ध भए मात्र राष्ट्रियता बलियो हुन्छ । त्यसैले होला उनी स्वयं रोगले थलिएर विदेशी अस्पतालमा भर्ना भएका बखत लोकतन्त्र ल्याउने बुटी खोज्न भन्दा पनि जनतालाई कसरी निरोगी र स्वस्थ बनाउन सकिन्छ भनेर उपाय सोध्थे ।
बीपी कोइरा लोकतन्त्रवादी थिएनन् । लोकतन्त्र र सत्ता प्राप्तिलाई साधन मात्रै ठानेका थिएनन् । त्यसैले उनले सुकिला र मुकिलाको कुरा उठाएका थिए, जसलाई अहिले पनि आफू सत्तामा नभएका बखत मात्रै कांग्रेसीजनले उठाउने गरेका छन् । बीपीको परिभाषामा महलमा बस्ने होइन, झुपडीमा बस्नेहरू सहजरूपमा बाँच्नु र हाँस्नु नै समाजवाद थियो । अहिले बीपीलाई नबुझी उनका हरेक कुरालाई गलत तरिकाले व्याख्या गर्ने गरेको पाइन्छ । यसो हुन नदिन बीपीका बारेमा सबैलाई बुझाउन जरुरी छ ।
– सागर नेपाली, कैलाली ।

के हो फिजेट स्पिनर ?
औंलामा राखेर फनफन घुमाइने एउटा सानो खेलौनाले अहिले विश्वमै ठूलो लोकप्रियता कमाइरहेको छ । नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थालेको छ अहीले फिजेट स्पिनर । तनाव कम गर्न र एकाग्रता बढाउन सहयोग गर्ने विश्वासले गर्दा यसका प्रयोगकर्ताहरु बढेका हुन् । बच्चाहरुका लागि भने यो मनोरञ्जनको बस्तु पनि बनेको छ । प्लास्टिक तथा मेटलयुक्त यस्ता स्पिनर बजारमा विभिन्न रंग तथा डिजाइनमा किन्न पाइन्छ । नेपाली बजारमा यस्ता स्पिनरको मूल्य न्यूनतम एक सय रुपियाँदेखि एक हजार रुपियाँसम्म पर्ने गर्छ ।
विदेशमा भने लाखौं रुपियाँसम्मका स्पिनर पाइन्छन् । गोलाकार स्पिनरको बीचमा एउटा रिङ हुन्छ । साइडमा तीनवटा प्वाल हुन्छन् । सोही तीन प्वालमध्ये एउटामा औंला राखेर यसलाई घुमाइन्छ । त्यसरी घुमाउँदा स्पिनर नझरोस् भन्नका लागि अर्को एउटा औंला (बूढीऔंला)ले सहारा दिइन्छ । यस खेलको विशेषता यति मात्रै हो । यसकै लागि अहिले बालबालिका मरिहत्ते गरिरहेका छन् । बजारमा यसलाई एकाग्रता बढाउने र तनाव हटाउने सामग्रीका रुपमा प्रचार गरिँदै आएको छ ।
तर यो खेलौनामा लत बस्यो भने हानिकारक हुनसक्ने अवस्था पनि छ । स्पिनर फिजेटको प्रभावकारितालाई आजसम्म चिकित्सकीय विज्ञानले पुष्टि गरेको छैन । अधिकांश बच्चामा एकाग्रता नहुने समस्या बढी हुन्छ । तिनीहरुमा एकाग्रता कायम गर्न यस्ता खेलहरु उपयोगी हुनु स्वाभाविक हो । तर यही कुरा लत बन्न गयो भने बच्चाहरुमा समस्या पनि निम्त्याउन सक्छ ।
फिजेट स्पिनरले पनि बालबालिकालाई केही समयको लागि रमाइलो महसुस गराउनुका साथै उनीहरुलाई पढाइ–लेखाइको तनावबाट मुक्ति दिलाउँछ । तर त्यसो भन्दैमा यसैको पछि लाग्नु गलत हुन्छ । यदि कुनै बच्चा चकचके छ, एकै ठाउँमा बस्दैन र कुनै पनि कुरा ग्रहण गर्न समस्या हुन्छ भने उसलाई यसले एकाग्र हुन मद्दत गर्न सक्छ । तर, त्यसो भन्दैमा यसैमा लत बसाउन भने हुँदैन ।
– श्रवण पाण्डेय, मनोचिकित्सक, काठमाडौं ।

लोपोन्मुख चेपाङ जातिको अवस्था
आजभन्दा पुस्तौँअगाडि चेपाङहरुको जंगलमा र ओडारमा बासस्थान थियो । जंगलको कन्दमूल, सागसिस्नु, गिठा–भ्याकुर खाएर जीवन चलाउँथे उनीहरु । प्रायजसो चेपाङहरु ४ जिल्ला गोर्खा, धादिङ, मकवानपुर, चितवनका विकट ठाउँहरुमा बस्ने गरेका थिए र चेपाङहरुको जनसंख्या अघिल्लो जनगणनाअनुसार ६० हजारभन्दा माथि थियो । आजभोलि उनीहरु १० जिल्लाभन्दा धेरैमा बसोबास गरिरहेका छन् ।
आजभोलि चेपाङहरु पहिलाजस्तो ओडारमा बस्दैनन्, स–साना झुपडी बनाएर स्याउलाले बारेर बस्ने गरेका छन् उनीहरु । चेपाङ समुदायहरु शिक्षा, स्वास्थ्यमा कमजोर नै छन् । चेपाङहरुका ठूला–ठूला खेतहरु हुँदैनन्, पाखापखेरामात्र हुन्छन् । अहिले दुई प्रतिशतसँगमात्र जग्गाधनी लालपुर्जा छ, बाँकी ९८ प्रतिशत चेपाङको ऐलानी खोरियामात्र छन् ।
ती खोरियामा कोदो, मकै, फापर, तोरी लगाइन्छ, तैपनि प्रशस्त मात्रामा खान पुग्दैन । हुनेखाने चेपाङलाई ३ देखि ६ महिनासम्म खान पुग्छ, बाँकी समय अर्मापर्मा गरेर जीवन चलाइरहेका हुन्छन् ।
केही वर्षअगाडि आएको विनाशकारी भूकम्पले चेपाङ समुदायमा मानव क्षतिमात्र गरेन, आर्थिक क्षति पनि नराम्रोसँग ग¥यो । डाँडाहरु चिराचिरा पा¥यो । ती चिराचिरा पारेका डाँडाहरु बिस्तारै वर्षादको समयमा भत्किएर चेपाङहरुले लगाएको कोदो, मकै पुरिएर नष्ट भयो । चेपाङ समुदायमा गएको दशैँ–तिहार मान्न साह्रै समस्या भएको थियो । चेपाङ समुदायमा भोकमरीको चपेटा बढेर फेरि पहिलेजस्तै जंगलतिर बाह्रै महिना कन्दमूल खाएर बस्नुपर्ने त हैन ? भन्ने आशंका अहिले चेपाङहरुको ठूलो चिन्ताको विषय बनेको छ । सरकारले उचित व्यवस्थानिमा ध्यान दिनु जरुरी देखिएको छ ।
– सीताराम शर्मा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्