लकडाउन खुकुलो पार्न सरकारसँग माग



नेपाल समाचारपत्र, काठमाडौं

लकडाउनका कारण साना तथा मझौला उद्योग समस्यामा परेको भन्दै उद्योगी व्यापारीले लकडाउन खुकुलो पार्न सरकारसँग माग गरेका छन् । लकडाउन लम्बिँदै जाँदा व्यापारी समस्यामा पर्न थालेको बताउँदै उनीहरूले लकडाउनमा खुकुलो नीति अपनाउन सरकारसँग आग्रह गरेका हुन् ।

राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवालले महामारीका समयमा अर्थतन्त्रलाई माथि उकास्न सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै लकडाउन खुकुलो पारेर व्यावसाय सञ्चालन गराउनुपर्नेमा जोड दिनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले साना तथा मझौला उद्योगी व्यापारीहरूले घरभाडा समेत तिर्न गाह्रो हुन थालेको बताउँदै व्यावसाय सञ्चालन गर्न पाए समस्या विस्तारै हट्दै जाने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–‘हामीलाई आर्थिकरूपमा समस्या पर्दै गयो । बैंक तथा सहकारीबाट ऋण लिएर व्यापार चलाएका हुन्छौं, लकडाउनका कारण अहिले व्यापार बन्दको अवस्था छ । पसलको भाडा त तिर्नै पर्छ, कसरी तिर्ने ?’
‘लकडाउन खुकुलो बनाई व्यापार व्यवसाय गर्न दिएमा सुरक्षाका उपाय अवलम्बन गरेर आर्थिक कारोबार गर्ने थियौं।’–उहाँको भनाइ छ ।

यस्तै लकडाउनका कारण सबै उद्योग व्यवसाय बन्द हुँदा साना तथा मझौला व्यवसायी बढी प्रताडित हुन पुगेको महासंघका महासचिव बैकुण्ठ दाहालको भनाइ छ । ‘सरकारले बजेटका समयमा सहुलियत त दिन्छ होला तर हामीलाई अहिले नै समस्या भइसकेको अवस्था छ।’–उहाँले भन्नुभयो । लकडाउन खुकुलो पारेर व्यापार व्यावसाय गर्न दिनुको विकल्प नभएको भन्दै सरकारले यसबारे चाँडै निर्णय गरेर अगाडि बढ्नुपर्ने उहाँको धारणा छ ।

पसलको भाडा, बैंक तथा अन्य वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजमा सहुलियत तथा पुनर्कर्जाको माग गरे पनि सरकारले सम्बोधन गर्न नखोजेको गुनासो गर्दै उहाँले आर्थिक चपेटामा परेर व्यवसायीले आत्महत्या गर्ने स्थिति नआउला भन्न नसकिने उनको भनाइ छ ।

उहाँले कतिपय व्यापारिक पसलहरू सञ्चालन भइरहे पनि साना तथा मझौला उद्योगहरू सञ्चालनको नीति नलिएकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आर्थिक समस्याका कारण व्यवसायीहरूले घरभाडा तिर्न नसक्नुका साथै अन्य ऋणको ब्याजसमेत तिर्न गाह्रो हुने स्थिति सिर्जना भएको भन्दै उहाँले सरकारले घरभाडा मिनाहा, ऋणको ब्याजमा सहुलियत तथा अन्य चुक्ता गर्नुपर्ने करमा पनि सहुलियतका लागि सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्