माटो बचाउन जुट नेपाली



विश्व कसरी यो महामारीबाट बच्ने भन्ने चिन्ताबाट गुज्रँदै गर्दा भारतले गरेको अतिक्रमणविरुद्ध गीत तयार पारिएको छ।
अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको संगीतमा सामूहिक देशभक्ति गीत हाम्रो माटो म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। विश्व मानव जातिकै समस्याको कारणले कोरोना भाइरसको महामारीसँग विश्व समुदाय नै सामूहिकरूपमा लड्दै गर्दा भारतले नेपालको स्वीकृतिबिनै भूमि मिचेर बाटो बनाएपछि विश्वमा रहेका अधिकांश नेपालीले आप्mनै तवरले विरोध गरे र गरिरहेका छन्।

गायक,संगीतकार तथा गीतकार अमृत खातीलाई पनि छिमेकीले मिचेको भूमिले बेसरी दुखायो। खातीले त्यही दुखाइलाई शब्दमा सृजना गरेर चर्चित हास्य कलाकार तथा गायक राजा राजेन्द्रसँग मिलेर संगीत भरे।

यसरी शब्द र संगीत तयार भएपछि गायक गायिका अमृत खाती, राजाराजेन्द्र पोखरेल, विक्रमजंग शाह, सिर्जु अधिकारी, अनु अधिकारीले स्वर भरे। यो महामारीका बेला गीत रेकर्ड गरी भिडियो नै बनाएर सार्वजनिक गर्न सहज नभए पनि कलाकारहरूले साहसका साथ प्रयास गरेर उपयुक्त समयमा सिर्जु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। माटो जोगाउनका लागि सावधानी गीतका रूपमा तयार पारिएको गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ।

यतिखेर नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरिसकेको छ। आप्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीका लागि नक्सामा भएको जमिन फिर्ता गर्न एकजुट हुन जरुरी भएकाले यो गीत तयार पारिएको कलाकारहरूले बताएका छन्।

गीतले भन्छ:
हेर्दाहेर्दै छिमेकीले माटो लुटिसक्यो
ओहोर दोहोर गर्ने बाटोघाटो लुटिसक्यो
मुठ्ठी उचाली उठ नेपाली
यही हाम्रो पहिचान यही हाम्रो स्वाभिमान
माटो बचाउन जुट नेपाली।

प्रतिक्रिया दिनुहोस्