सफाइ मजदुरको चिन्ता



दुई महिनाभन्दा लामो समयको लकडाउनका बेला व्यवस्था र व्यक्तिका विषयमा धेरै आलोचना भए । तर, सबै आलोचना सुन्ने तर सुधारका लागि प्रयास भने नगरिने काम यत्रतत्र देखिन्छ । वस्तुवादी र प्रमाणका आधारमा गरिने आलोचनालाई गम्भीरताका साथ लिनुपर्छ । यस्तै आलोचनाको विषय बनेको छ– सफाइ मजदुरप्रतिको बेवास्ता । लकडाउनले हरेक निकायमा काम गर्नेहरू प्रायः फुर्सदिला भए पनि दैनिक घर–घरमा गई फोहर संकलन गर्नेहरूलाई भने भ्याई–नभ्याई हुने गरेको छ ।

बिहान उठ्नासाथ उनीहरूको दैनिकी अन्यको घरमा गई फोहोर संकलन गर्ने कार्यबाट शुरू हुने गर्दछ । अन्य पेसा अपनाएकाहरू कोरोना भाइरस सर्ने डरले घरबाट निस्कन हिच्किचाइरहेको अवस्थामा दैनिक फोहोर संकलन गर्नेहरूलाई त्यस्तो डर भए पनि घर–घर जान बाध्य हुनुपरेको छ । कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ भनेर पुष्टि भए पनि फोहोर–मैला, तरकारी, रुपियाँ–नोट, धातुका सामानबाट पनि संक्रमण हुन्छ भनेर कतिपय अवस्थामा भन्दै आएको पाइन्छ ।

यस्तो अवस्थामा घर–घरमा गई फोहोर संकलन गर्ने होस् वा बाटोघाटो सफा गर्नेहरू हुन्, तीमध्ये धेरैजसोको कोराना भाइरस परीक्षण नभएको विषय बाहिर आएको छ । संक्रमण रोगको रोकथामका लागि उनीहरूमाथि सुरक्षाको व्यवस्था अपनाउन सम्बन्धित निकायबाट चासो नहुनु दुःखद हो ।

दैनिक अग्रपंक्तिमा रही त्यसरी काम गर्नेहरू उपत्यकामा २ हजारको संख्यामा रहेका उल्लेख गरिएको छ । उपत्यका र छिमेकी जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बल्ल २ हजारमध्ये ३ सयको मात्र कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण गरिएको छ । बाँकी १ हजार ७ सयको स्वास्थ्य स्थिति परीक्षण गर्न सकिएको छैन । यसले गर्दा सम्बन्धित ठाउँ तथा व्यक्तिमा त्रास हुनु स्वकभाविकै हुन्छ ।

उपत्यकामा रहेकासहित यस वरपरका अन्य १८ वटा स्थानीय तहको फोहर संकलन गर्न हाल ७० वटा निजी संस्था क्रियाशील अवस्थामा रहेका छन् । यस्ता संस्थाहरूले धुलिखेल नगरपालिकासमेतमा रहेका फोहोर संकलन गरी सेवा पु¥याइरहेका छन् । यस्ता स्थानीय तहमध्ये काठमाडौं र ललितपुर महानगरपालिकामा काम गर्नेहरूको नै कोरोना भाइरसको परीक्षण गरिएको छैन भन्ने गुनासो आइरहेको छ ।

अन्य स्थानीय तहभन्दा सुविधासम्पन्न यी महानगरपालिकाले नै उनीहरूलाई वास्ता नगर्नु लज्जाको विषय हो नै, त्यो भन्दा पनि तथाकथित तल्लो तहमा काम गर्नेलाई हेंला गरेको हो कि भन्ने भान हुनु पनि स्वभाविकै हो ।

अव दैनिकरूपमा फोहोरमा काम गर्नेको स्वास्थ्यमा ध्यान दिन अबेर गर्नु हुँदैन । उनीहरूको छिटोभन्दा छिटो कोरोनाको परीक्षण गरियोस् । स्थानीय तहमध्ये विशेष गरी काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले यसबारेमा विशेष चासो लिनुपर्ने देखिन्छ ।

उनीहरूलाई कारोना भाइरसबाट जोगिन सक्ने वातावरण बनाउन सामाजिक दूूरी अवलम्बन हुने गरी आवश्यकताअनुसार एक वा दुईदिने तालिम दिनुपर्ने भए सोबारेमा पनि सोचियोस् । उनीहरूलाई स्वस्थ्य राख्न सके लकडाउन अवलम्बन गरेर बसेका अन्यलाई पनि केही मात्रामा ढुक्क हुने अवस्था आउने थियो । यस विषयमा फोहोर संकलन गर्न गठित निजीस्तरका संस्थाले पनि केही हिस्सा जिम्मेवारी लिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्