सङ्क्रमित युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ



रामधन राई,खोटाङ ।

कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आठ जना परिवार, उनीसँगै बसमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाब सङ्कलन गरेर परीक्षण गर्न विराटनगर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

गत मङ्गलबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर पठाइएका ४३ जना व्यक्तिको स्वाबको पिसिआर रिपोर्ट गएराति ११ बजे नेगेटिभ आएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

“काठमाडौँबाट उद्दार गरेर ल्याइएकामध्ये ३३ जनाको स्वाब सङ्कलन गरेर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा एक युवकको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो”, उहाँले भन्नुभयो, “एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै अन्य व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न सङ्क्रमित युवकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा पुगेका ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्न पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।”

हलेसी तुवाचुङ नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमित फेला परेपछि सो नगरपालिकासहित जिल्लाभर त्रास सिर्जना भएको छ । जिल्लामा एक युवकमा सङ्क्रमण भेटिएपछि सङ्क्रमित युवकसँग सम्पर्कमा पुगिसकेका अन्य व्यक्तिको पनि पहिचान गरेर पिसिआर परीक्षण गर्न कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

शहरमा बसिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई हलेसी तुवाचुङ नगरपालिकाले उद्दार गरेर गाउँ ल्याउनेक्रममा राई थरका युवक बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । सो बसमार्फत ५१ जना यात्रा गरेर जिल्ला आएकामा उनीसहित ३८ जना सोही नगरपालिका भित्रिएका वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो ।

काठमाडौँस्थित पेप्सीकोला बसेर एक फाइनान्समा काम गर्दैआएका उनी होम क्वारेन्टाइनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्याङ्की सरसफाई लगायतका सामाजिक काममा खटिएका थिए । आहाल खन्नेक्रममा १२ जना र ट्याङ्की सफा गर्दा १५ जनाभन्दा बढी छिमेकीसँग उनको प्रत्यक्ष सम्पर्क भएको थियो ।
सङ्क्रमित युवकसँगै एउटै बसको सिटमा यात्रा गरेर आएका व्यक्तिको पिसिआर रिपोर्टसमेत नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो । “अहिलेसम्म सङ्क्रमित युवकको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमण देखिएलगत्तै आइसोलेशनमा राखिएका उनको मङ्गलबारदेखि विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।”

गाउँमा हुने सामाजिक काममासमेत सक्रिय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको हो ।

बन्दाबन्दीको कारण घर फर्कन नपाएर अलपत्र परेका नगरबासीलाई गत वैशाख–१२ र १३ गते नगरपालिकाले २५ वटा रिजर्भ गाडी पठाएर एक हजार ३१८ जना उद्दार गरेर ल्याएको थियो । नगरपालिकाले ल्याएको नगरबासीलाई अनिवार्यरुपमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नेगरी दश बुदे कबुलियतनामा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्