कर्मचारीको परीक्षणपछि हेटौंडा अस्पतालको ओपीडी सिल गर्ने निर्णय



रोशन पराजुली,हेटौंडा ।

हेटौंडा स्थायी ठेगाना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडा अस्पतालले बहिरंग (ओपीडी) सेवा बन्द गर्ने विषयमा छलफल थालेको छ ।उक्त अस्पतालमा उपचार गरी काठमाडौं रिफर गरिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई उक्त सेवा बन्द गर्ने तयारी गर्ने विषयमा छलफल भएको हो ।

अस्पतालमा शनिबार बसेको विशेष बैठकबाट अस्पतालका सबै कर्मचारीलाई १ साता क्वारेन्टाइनमा राख्ने र कोरोना जाँच गर्ने निर्णय भएको छ । अस्पतालका १ सय ५५ कर्मचारीको परीक्षणपछि ओपीडी सिल गर्ने वा नगर्ने भन्ने कुरा रिपोर्टबाट थाहा हुने कोरोना युनिट संयोजक डा. हरिबहादुर खड्काले बताउनुभयो । रिपोर्ट आइतबार विहानसम्म आइसक्ने संयोजक डा. खड्काले बताउनुभयो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना संक्रमित महिलासँग विभिन्न चरणमा भेट भएका वा उनको उपचारमा संलग्नलगायतको खोज र पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेसनमा राख्ने कार्य भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा–३ की ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना सार्वजनिक गरे पनि ती महिला हेटौंडा उपमहानगरपालिका वडा–४ की स्थायी बासिन्दा भएको खुलेको हो । परिवारले फर्म भर्दा स्पष्टसँग हेटौंडा–४ नै भरिएको छ ।

जेठ ४ गते हेटौंडा अस्पतालबाट रिफर भएर काठमाडौं गएकी ती महिलाको स्वाब काठमाडौंमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनी हेटौंडाबाट गएकोले कोरोना परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा शुक्रबारको रिपोर्टमा पोजेटिभ देखिएको थियो ।

उनलाई मुटुको समस्याका कारण हेटौंडा अस्पतालमा उपचारपछि टिचिङ अस्पताल रिफर गरिएको थियो । महिलामा कोरोना भाइरस पुष्टि भएको, काठमाडांै र हेटौंडामा उनीसँग सम्पर्कमा रहेकाको खोजी भइरहेको हेटौंडा अस्पताल प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वाशप्रस्वासमा समस्या आएका कारण उनलाई काठमाडौं रिफर गरिएको थियो । महिलाको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको जानकारी दिइएको छ ।

उनको पेट र मुटुमा समस्या थियो । उनलाई हेटौंडा अस्पताल लगियो । अस्पतालमा चेकपछि आवश्यक उपकरण अभावका कारण चितवन वा काठमाडौं लैजान सल्लाह दिइयो । त्यसपछि बिरामीलाई काठमाडौं शहीद गंगालाल अस्पताल लगियो ।

अस्पताल पुगेपछि पेट सुन्निएका कारणले टिचिङमा लैजान र त्यहाँ भए मुटु र पेट दुवैको राम्रो उपचार हुने भनिएपछि टिचिङ अस्पताल लागियो । त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेपछि ४ गते नै आरडीटी परीक्षण गरियो । नतिजा नेगेटिभ आयो ।

त्यसपछि अस्पतालले बिरामीको भर्ना ग¥यो । ५ गते पुनः आरडीटी परीक्षण गरियो । त्यसको नतिजा पनि नेगेटिभ आयो । हातहरु सुन्निएका कारण बिरामीलाई ६ गते सामान्य ज्वरो आयो । त्यसपछि चिकित्सकले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरे । त्यही पीसीआर टेष्टमा नतिजा पोजेटिभ देखियो ।

‘छोरी फागुन २१ गते क्यानडाबाट आएकी हुन् । त्यस दिनयता परिवार होम क्वारेन्टाइनमै बसेका छन् । अनावश्यक बाहिर हिँड्ने काम गरेका छैनौं,’ परिवारजन भन्छन्–हामी परिवारका सदस्यबाहेक अन्यसँग लापरबाही तरिकाले भेटघाट गरेका छैनौं । फागुनमा छोरी आएकी । जेठ दोस्रो साता सुरु भइसकेको छ । त्यसकारण बिरामीलाई हेटौंडामा संक्रमण भएको हो भन्ने लाग्दैन ।

हेटौंडामा संक्रमण हुन्थ्यो भने २ पटकसम्म आरडीटी जाँच गर्दा नेगेटिभ आउने थिएन । जे समस्या भयो, काठमाडौंका अस्पतालमै भयो कि भन्ने लागेको परिवारको आशंका छ । हाल बिरामीको अबस्था सामान्य छ । ज्वरो आएको छैन । मुटु तथा पेटको अबस्था पनि सामान्य छ । ‘हामी हाल सेल्फ क्वारेन्टाइनमै छौं । हामीसँग सम्पर्क भएकाबारे सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं,’ परिवारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्