झापाको मेची अञ्चल अस्पतालमा कोरोना उपचार हुने



न्युज अफ नेपाल,भद्रपुर ।

झापामा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि शनिवार यसको अन्तिम टुङ्गो लागेको हो ।

प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नव निर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताउँनुभयो । अरु विकल्पमा छलफल भपनि सबै हिसावले मेचीको नयाँ भवन उपयुक्त हुने निष्कर्ष मा पुगेको उहाँले जनाउँनुभयो ।

कोरोना अस्पताल १०० बेडको क्षमताको हुनेछ ।कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउँनुभयो । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ । प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए ।

कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो ।

अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ३३ जना कचनकबल र १ जना झापा गाउँपालिकाका छन् । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एक एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्