राष्ट्रिय गौरबको योजना कालीगण्डकी प्रसारण करिडोरको काम धमाधम



दुर्गाप्रसाद शमा,पर्वत ।

कोरोनाको कहरका बिचमा पनि राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर को काम धमाधम भैरहेको । लक डाउनको अवधीमा धेरै बिकास योजनाहरुको ठप्प भएपनि पर्वतको खुर्कोट देखि म्याग्दीको दाना सम्मको कालीगण्डकी प्रसारण करिडोरको काम धमाधम हुन थालेको हो ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको दाना देखि पर्वतको कुस्मा नगरपालिकाको खुर्कोट खण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)का बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ। दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको आयोजनाले जानकारी दिएको छ। कूल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी छ।

केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने छ । म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो। करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ।

यो प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ। हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्