बिदेशबाट फर्केकाहरुका लागि कुस्मामा होटललाई क्वारेन्टाईन बनाइने निर्णय

शव ब्यबस्थापन गर्न दुई स्थान तोकियो



न्युज अफ नेपाल,पर्वत ।

भारत तथा तेस्रो मुलुकबाट उद्दार गरेर जिल्लामा ल्याउने नागरिकलाई राख्न कुस्माका होटलहरुलाई नै सामुदायिक क्वारेन्टाईन बनाउने निर्णय भएको छ । कोभिड १९ नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टको शुक्रबार भएको बैठकले भारत तथा तेस्रो मुलुकबाट उद्दार गरि ल्याउनेलाई राख्नका लागि पोखरा बागलुङ्ग सडकको खण्डमा रहेका होटलहरुलाई सामुदायिक क्वारेन्टाइन बनाउने निर्णय भएको हो ।

भारतबाट सिमानामा आउने नागरिकको उद्दार शुरु भएको छ । उद्दार गरिएका नागरिकलाई घरघरमा पठाउनु अघि सदरमुका कुस्मास्थित सडक खण्डमा पर्ने होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरुलाई पहिलो चरणमा सामुदायिक क्वारेन्टाईन बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

पहिलो चरणमा सडक क्षेत्रका होटल र पार्टी प्यालेसलाई प्रयोगमा ल्याइने र दोस्रो चरणमा कुस्माबजार भित्रकै होटलहरुलाई पनि प्रयोगमा ल्याउने तयारी छ । स्थानिय जनप्रतिनिधी तथा होटल ब्यबसायीहरुको सहमतिको आधारमा निर्णय भएको प्रजिअ नेपालले जानकारी दिनुभयो ।

पहिलो चरणमा राख्नका लागि छमर्के स्थित ब्लु एञ्जल रिर्सोटलाई तालिम दिएर तयार बनाइएको छ । अन्य होटलमा पनि क्रमश? तालिम दिएर तयार पार्ने योजना अघि सारिएको छ । धेरै होटल ब्यबसायीहरु संकटमा सरकारलाई साथ दिन तयार भएको प्रजिअ नेपालले बताउनुभयो । होटलमा सुरक्षाका लागि भने नेपाल प्रहरी र नेपाली सेना खटाउने तयारी छ । भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई एकद्वार नितिका आधारमा उद्दार गर्ने निर्णय गरिएको छ ।

सिमानाबाट ल्याउन पालिकाहरुले नै गाडी पठाउने र ल्याइएपछि होटलमा राखिनेछ । क्वारेन्टाईनमा राखिएकाको स्वाब संकलन गरि परिक्षणका लागि पठाउने र नेगेटिभ आएमा सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने छ भने पोजेटिभ आएमा भने कोरोना अस्पतालमा उपचारका लागि भर्ना गर्ने निर्णय समेत भएको छ । पालिकाहरुले क्वारेन्टाईनमा राख्दा लागेको खर्च भने सम्बन्धित पालिकाले नै होटल ब्यबसायी संग समन्वय गरेर भुक्तानी गर्नुपर्ने छ ।

शव ब्यबस्थापनका लागि स्थान समेत छनौट

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संक्रमित बिरामीको मृत्यु भएमा शव ब्यबस्थापनका लागि कुस्मा बजारमा दुई स्थान तोकिएको छ । पुरानो ल्याण्डफिल्डको खाली जमिन प्रयोग गरिने छ । संक्रमित बिरामीको मृत्यु भएमा कुस्मा नगरपालिका वडा नं ४ स्थित माझमेला सामुदायिक वन र कुस्मा वडा नं ५ को बड्गाउँ सामुदायिक वनलाई छनौट गरिएको छ ।

माझमेला सामुदायिक वनमा गुप्तेश्वर क्याम्पस पछाडीको खाली चौर र बड्गाउँ सामुदायिक वनको कोरोना संक्रमित बिरामीको उपचार वा ट्रान्सपोर्टका क्रममै मृत्यु भएमा नेपाल सरकार र गण्डकी प्रदेश सरकारले बनाएको शव ब्यबस्थापन सम्बन्धी मापदण्ड र कार्यबिधीका आधारमा कार्यदलको निर्णय अनुसार शब ब्यबस्थापन गर्ने निर्णय समेत जिल्ला कमाण्डपोष्टले गरेको छ ।

मेयर जोशी उपस्थित

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको जेठ ८ गतेको बैठकमा ‘बहिष्कार’ गरेको भन्दै उनुपस्थित भएका कुस्माका मेयर रामचन्द्र जोशी शुक्रबारको बैठकमा भने उपस्थित भएका छन । जिल्ला कमाण्डपोष्टको शुक्रबारको बैठकमा उपस्थित भएर निर्णय प्रकृयामा सहभागी भएका हुन ।

शुक्रबारको बैठकमा मेयर जोशी र फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा सहभागी हुनुभएको थियो । जेठ ८ गते बुधबार भएका निर्णयलाई समेत शुक्रबारको बैठकले अनुमोदन गरेको छ ।

महामारी नियन्त्रणको समयमा जिल्ला कमाण्डपोष्टले आयोजना गरेको बैठकमा कुस्माका नगरप्रमुख जोशी , उपप्रमुख सिता काफ्ले लामिछाने सहित केही वडा अध्यक्षहरुले बहिष्कार गरेकोमा आलोचना समेत भएको थियो । बैठकमा केही वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्