सुदूरपश्चिममा चार जनामा थप कोरोना संक्रमण



विमल विष्ट,डोटी ।

सुदूरपश्चिम प्रदेशमाआज शनिबार थप चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रवार पाँच जनामा देखिएको कोरोना आज थप चार जनामा पुष्टि भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुले जनाएको ।

निर्देशनालयका अनुसार अब सुदूरपश्चिम प्रदेशमा नयाँ कोरोना संक्रमितको सङख्या नौँ पुगेको छ । आज कोरोना पुष्टि भएकाहरुमा बैतडीको शिवनाथ गाउँपालिकाका वडा नं १ का २७ वर्षीर र सोही वडाका २० वर्षीय तथा वडा नं २ का २२ वर्षी तथा सोही वडाका ३० वर्षीय पुरुष रहेको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिनुभयो ।

हिजो शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारन्टिनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नं १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा पहिलो पटक कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । त्यसलगत्तै चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

सोही उपमहानपालिका–५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवक तथा वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । गएको ३५ दिनयता सुदूरपश्चिममा कोरोनाका नयाँ संक्रमित भेटिएका थिएनन् । यहि भन्दा पहिले संक्रमित भएका यहाँका पाँच जना संक्रमित निको भएर घर फकिई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्