कोरोना पीडितको अत्येष्टी गर्ने सैंजु र गैंजुलाई सहयोग



न्युज अफ नेपाल,काठमाडौं।

कोरोना संक्रमणबाट ज्यान गुमाउन बाध्य भएकी सिन्धुपाल्चोककी महिलाको शव दाहसंस्कार गर्ने अरुण सैंजु र राजेश गैंजुलाई सहयोग गरिएको छ।पहिलो कोरोना शहिद महिलाको शव दाह संस्कार गर्न कोही नमानेपछि भक्तपुरबाट अरुण सैंजु र राजेश गैंजु अघि सरेका थिए। धुलिखेल अस्पताल पुगेर उनीहरुले नै शवलाई आर्यघाट ल्याएर अन्त्येष्टी गरेका थिए।

यिनै सैंजु र गैंजुसँगै उनीहरुको समुह आरएनए–१६ लाई ८१ बर्षिया एक आमाले प्रोत्साहन स्वरुप सहयोग गरेकी छन्।
महाविपत्तिको बेला समाजमा मानवीय सेवा गरि सकारात्मक सन्देश प्रवाह गरेको भन्दै भैरहवा निवासी ८१ बर्षिया खगिसरा घिमिरेले सैंजु र गैंजुको समुह आरएनए–१६ लाई ५० हजार रुपैंया सहयोग गरेकी हुन्।

दिवंगत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानको तर्फबाट उनले सहयोग गरेकी हुन्। ‘विपदको घडीमा उहाँहरुले उदाहरणीय काम गरेर देखाउनु भयो’, भैरहवाबाट घिमिरेले लिखित सन्देश दिँदै भनेकी छिन् ‘सबैले प्रोत्साहन दिनुपर्छ।’

त्यस्तै घिमिरेले एसियन फर्मास्युटिकल्स र एनसिभीको समन्वयमा ८ थान पिपिई र ६० थान ह्याण्ड स्यानिटाइजर समेत आरएनए–१६ समुहलाई उपलब्ध गराएकी छन्।

फर्मास्युटिकल्सका दिपेश प्रधान र एनसिभीका यादव गौतमले भक्तपुर सुर्यविनायकस्थित सेनाको वीर दल गणमा पगेर समुहलाई नगद र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे। नेपाल स्काउटका रोबर लिडर गैंजु र स्काउट मास्टर सैंजुको समुहलाई वीरदल गणले आपतकालिन शव व्यवस्थापनको तालिम दिएको थियो।

कोही तयार नभएपछि यही समुहले धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्य भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापनमा सघाएको थियो।

प्रतिक्रिया दिनुहोस्