मिक्वाखोला गाउँपालिकाको सेवा लिन हिँडेरै सदरमुकाम पुग्नुपर्ने बाध्यता



दिलकुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा सोम लिम्बू निकै हतारिएर फाइलमा कागजात मिलाउँदै थिए । झट्ट हेर्दा कुनै सरकारी तथा कुनै संस्थामा रोजगारीको आवेदन दिन हतारिएको जस्तो देखिन्थ्यो ।

तर, लिम्बू कुनैपनि रोजगारीका लागि आवेदन दिन हिँडेका चाहिँ होइनन् उनी त योजनाको रकम निकासा गर्न मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालय फुङलिङ नगरपालिका वडा नं. ७ मा रहेको कार्यालयमा गएका हुन् ।

सदरमुकाम आएको तीन दिन भइसकेको थियो । आज पनि काम नहोला कि भन्ने चिन्तामा थिए उनी । उनी होटलमै बास बसेको र उनका आफन्तहरू पनि बजारमा बस्छन् तर लिम्बूको मन आफन्तको कोठामा गएर बस्न मान्दैन । यस्तो लकडाउनको समयमा बजारमा बस्नेलाई खान लाउनको समस्या हुन्छ भन्ने बुझेर आफू होटलमै बसेको उनले बताए ।

मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालय रहेको फुङलिङ नगरपलिका ७ नम्बर वडा पुगेर हतार–हतारमा कार्यालयमा भौतारिँदै योजना शाखामा प्रवेश गर्छन् । त्यहाँ काम सकेपछि कार्यकारी अधिकृत कहाँ पुग्छ, त्यहाँबाट काम सम्पन्न भएपछि लेखा शाखामा पुगेर तीन लाख रूपैयाँको चेक लिएर निकै हतारिँदै लामो–लामो पाइला चाल्दै अगाडि बढ्छन् ।

उनलाई चेक साटेर घर पुग्नु थियो । लिम्बूको घर पुग्न ५ घण्टा हिँड्नुपर्छ । लिम्बूको मनले चेक साटिदैन होला भन्ने मनले सताइरह्यो । समय २ः३० भइसकेको थियो । लकडानको कारणले बैकहरु कतिखेर खुल्छ, कतिखेर बन्द हुन्छन् टुङ्गो थिएन ।

उनी फुङलिङ नगरपालिका ४ मा रहेको सेन्चुरी बैंकबाट चेक साटेर आफ्नो गाउँपालिका मिक्वाखाला गाउँपालिका २ खोक्लिङ गाउँतिर लाग्छन् । सोम मात्र होइन आधिकांस मिक्वाखोला गाउँपालिका बासिन्दाहरू आफ्नो पालिकाको योजना सम्झौता, रकम निकासा, सिफारिस जस्ता विभिन्न कामका लागि ताप्लेजुङको सदरमुकाम पुग्नैपर्ने बाध्यता खेपिरहेका छन् ।

गाउँ–गाउँमा सिहदरबार भन्ने उद्देश्यले संघीय संरचनाअनुसार ताप्लेजुङ जिल्लामा नै वटा संवैधानिक अधिकार सम्पन्न स्थानीय सरकार छन् । एक नगरपालिका र आठ वटा गाउँपालिका छ । अरू सबै आफ्नै भवन नभएपनि आफ्नै पालिको केन्द्रबाट कार्य सम्पादन भइरहेको छ ।

आफ्नै केन्द्रबाट कार्य सम्पादन भइरहेको केन्द्रमाहरूमा बैंकहरूको शाखा पुगिसकेको छ । आर्थिक कारोकार गर्न सुदरमुकाम धाउन बाध्यता हटेको छ । तर मिक्वाखोला गाउँपालिका केन्द्र थल्लङ हो अरु पालिकाको जस्तो अहिलेसम्म भएको छैन । यस पालिकाको केन्द्र थलङबाट कार्य सम्पादन हुँदैन, सदरमुकाम नै पुग्नुपर्छ ।

वित्तिय पहुँच पुरयाउनको लागि नेपाल राष्ट्रिय बैंकले सेन्चुरी बैकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गर्न परिपत्र जारी गरेको थियो तर अहिलेसम्म स्थानीय निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले कार्य भार सम्हालेको पनि ३ वर्ष पूरा भइसेको छ ।

तीन वर्ष भएपनि आफ्नै पालिकाको केन्द्रबाट कार्य सम्पादन गर्न सक्यो त ? न त बैंकले पालिका केन्द्रमा आफ्नो शाखा स्थापन गरयो ? यो दुवै अहिले ताप्लेजुङको सदरमुकामबाटै सञ्चालन भइरहेको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पैदल यात्रामा करिब ७ घण्डा लाग्छ थलङ पुग्न तर अहिले यस पालिका केन्द्रमा अहिले सडक सञ्जालले जोडेको छ ।

आवश्यक भौतिक संरचना पनि तयार भइरहेको छ तर पनि केही सेवा लिन सदरमुकामै जानुपर्नेमा स्थानीय जानप्रतिनिधिहरुको समन्वयको कामजोरी भएको मिक्वाखोला गाउँपालिकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पालिका इन्चार्ज चन्द्रकला गुरुङले बताइन् ।

गाउँ–गाउँमा जनसमुदायको सेवा दिनको लागि देश संघीय प्रणालीमा गएकोले सबै सेवा सुविधा गाउँमै उपभोग गर्न पाउनुपर्नेमा कतिपय सेवा सुविधा लिन अझै पनि सदरमुकाम धाउनुपर्ने बाध्यताप्रति आफूलाई समेत दुःख लागेको उनले बताइन् । आफ्नै केन्द्रदेखि सेवा सञ्चालन गर्न जनप्रतिनिधि तथा सरोकारलाहरूसँग आफूलाई सक्दो समन्वय समेत गर्ने उनले बताइन् ।

भौतिक तथा सुरक्षाको समस्याले गर्दा समयमै बैंकले आफ्नो कार्यालय स्थापना गर्न नसकेको र अहिले शाखा स्थापनाको लागि आवश्यक संरचनाहरू पूरा भइसकेको तर लकडाउन खुल्ला भएपछि थलङदेखि नै आर्थिक कारोबार गर्ने सेन्चुरी बैक जिल्ला शाखा ताप्लेजुङका प्रबन्धक जीवन अधिकारीले बताए ।

सुरक्षाको लागि प्रहरी चौकीको लागि जग्गा रजिष्टे«सन भइसकेको र भवन पनि छिट्टै बनाउने र भवन बनुन्जेलसम्म घर भाडामा लिएर सुरक्षाको व्यवस्था गर्ने मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए ।

सम्र्पक कार्यालय फुङलिङमा भए पनि गाउँ पालिकाको कुनै पनि सेवा सुविधा दिन दिनरात नभनी घडीरहेको गुरुङले बताउँनु भयो । भौतिक संरचना तथा सुरक्षाको असहजताले गर्दा सदरमुकाम फुङलिङमा सम्पर्क कार्यालय राखेर जनसमुदायलाई सेवा दिन बाध्य भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवाले बताए ।अहिले विकास निर्माण कार्य तथा योजनाको रकम भुक्तानी दिने काम भइरहेको र यस आर्थिक वर्ष सकिएलगतै मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङबाट सेवा सञ्चालन गर्ने अध्यक्ष साँवाले बताए ।

प्रतिक्रिया दिनुहोस्