भक्तपुरकी कोरोना संक्रमित महिला नगरपालिकाको वडा सदस्य



पुष्करराज बुढाथोकी, भक्तपुर ।

शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित भक्तपुर नगरपालिकाको महिला सदस्य रहेको खुलेको छ ।भक्तपुर नगरपालिकाले जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार पुष्टी गरेका ९ जना मध्य एक जना ४२ बर्षीय कोरोना संक्रमित भक्तपुर नगरपालिका वडा नम्वर ९ का महिला सदस्य रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

प्रजापतिका अनुसार शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल पुर्याएको र परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ ।

यस अघि उनी राहत वितरण लगायतका काममा सक्रिय थिइन् । त्यही क्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने बताउनुभयो ।

संक्रमित मुटुको बिरामी रहेकोले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । तर अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी थिईन् । अन्यत्र संक्रमित पुष्टि भएको आसपासको क्षेत्र तत्काल सिल गर्ने गरिए पनि यहाँ स्थानीय सरकारको दबाबमा प्रहरी र प्रशासनले यो समाचार तयार पार्दासम्म सिल गरेको छैन ।यस अघि भक्तपुर जिल्लाका ३ जनालाई संक्रमणको पुष्टि भएकोमा २ जना घर फर्किसकेका छन् भने बाँकी एक जना अस्पतालमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्