त्रिवेणीमा ६ सय शैयाको क्वारेन्टिन



मार्तडी।

जिल्लाको त्रिवेणी नगरपालिकाले थप ६०० श्ययाको क्वारेन्टिन बनाउने भएको छ । यसअघि ३०० श्ययाको क्वारेन्टिन निर्माण गरिएको भए पनि शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले थप ३०० गरी ६०० श्ययाको क्वारेन्टिन बनाउने निर्णय गरेको नगरपालिकाका सदस्य तथा वडा नं ३ का वडाध्यक्ष मीन भण्डारीले बताउनुभयो ।

भारतले नाका खुकुलो बनाउन थालेपछि नगरपालिकाले भारतबाट आउने र नेपालकै विभिन्न शहरबाट आउनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन निर्माण गर्ने निर्णय गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । नगर कार्यपालिकाको बैठकले साविकाको छतारा, तोली र कैलाशमाण्डौ गाउँ विकास समितिमा रहेका स्वास्थ्यचौकीमा भवन पर्याप्त नभएकाले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रेम थापाले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारीअनुसार नगरपालिकाको साविकको छतारामा २००, तोलीमा २०० र कैलाशमाण्डौमा २०० श्ययाको क्वारेन्टिन बनाउने बताउनुभयो । नगरपालिकाका साविकका तीनवटै स्वास्थ्य संस्थामा भवन पर्याप्त नभएका कारण बन्दाबन्दीको समयमा विद्यालयलाई क्वारेन्टिनका रूपमा प्रयोग गर्ने निर्णयानुसार क्वारेन्टिन निर्माण गरिएको नगरप्रमुख रामसिं रावलले बताउनुभयो ।

त्रिवेणी नगरपालिकाका नौ हजार स्थानीय नागरिक देश तथा विदेशमा रहेकाको लगत सङ्कलन गरिएको नगरपालिको जनाएको छ । धनगढी, काठमाडौँ, महेन्द्रनगर र नेपालगञ्जलगायतका शहरमा अध्ययन र मजदुरी गर्न गएका र भारतका विभिन्न ठाउँमा नोकरी गर्दै आएका तथा अन्य मुलुकमा गएका गरी पाँच हजार ५०० बढी जिल्ला बाहिर रहेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिं रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्