राहतबारे विवाद हुँदा उपमेयरका छोराद्वारा गोली प्रहार, २० घाइते



सुभेन्द्र दास, लहान ।

सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको हो ।

नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मण्डललाई लगत्तै अम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई विराटनगर रिफर गरिएको हो । झडपमा परी अन्य २० जना जति घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना जति भाइते भएका हुन् । जसमा केहि महिला र बाँकी पुरुष छन् । उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

कसरी चल्यो गोली ? 

नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए। राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भयो। सोही क्रममा वडाध्यक्षसँगै रहेका उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन्।

उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन्। यता, प्रहरीले भने दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेकोबारे अहिले पुष्टि हुन नसकेको बताए। ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन । झडप भएको हो ।’

सामान्य घाईते भएकाहरु घर फर्की सकेका छन । सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने, घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्