उपचारमा जडिबुटी



पुष्पराज भट्टराई

यजुर्वेदलाई आधार बनाएर आयुर्वेदका पिता धनन्तरीले जडिबुटी विद्यालाई सम्पन्न र उपयोगी बनाएको पनि झण्डै पाँच हजार वर्ष बितेछ । उक्त समयदेखि जडिबुटीको प्रतिपादन भइसकेको प्रमाण वेदले नै दिएको छ । जीवनमा कुनै समस्याआई स्वास्थ्य  बिग्रँदा निरोगी हुन मानिसले वनस्पतिकै फूल, फल, रस, जरा, बोक्रा, गानो आदिको प्रयोग गर्नु हाम्रो पुरानो चलन हो ।

त्यसै बेलादेखि के खान हुन्छ, के हुँदैन ? के लगाउन हुन्छ, के हुँदैन ? कुन वनस्पतिको प्रयोग कसरी, किन, कहिले, र कसले ?गर्ने भन्ने विधिविधान बनाइएको थियो ।

पुर्वजबाट सिकेको जडिबुटीसम्बन्धी ज्ञानले घरैपिच्छे वैद्य, धाँमीझाँक्री र झारफुक गर्नेहरुले स्थानीय वनजंगल ,पाखापखेराबाट खोजी गरी थिचेर, पिसेर, पकाएर, घोटेर, रोगको उपचार गर्ने परम्परा जीवितै छ । वनस्पतिका यिनै विभिन्न अगंप्रत्यङ्गलाई जडिबुटी, जराबुटा, ओखतिमुलो, दबाइमुलो, भन्ने गरिन्छ ।

गाउँघरमा भने अझै पनि परम्परागत रुपमा जडिबुटीको निर्वाद रुपमा प्रयोग भइरहेको छ । जडिबुटी जानकारले यसको प्रयोग गर्दै आइरहेका छन् । उनीहरु आफैं यिनको प्रयोग गर्ने उपचारात्मक विधि र परामर्श प्रदान गर्दछन् । कयौं रोग पनि यिनैले निको पारेका छन् ।

सिंहदरबार वैद्यखाना विकास समितिद्धारा प्रकाशित ‘चन्द्रनिघण्टु’ नामक पुस्तकमा उल्लेख भए अनुसार नेपालमा जनबोलीमा मात्रै सीमित भएको जडिबुटी ज्ञानको पहिलो हातेपुस्तक ‘सुश्रुतसंहितातारा’ काठमाडौंका एक वैद्यद्धारा सन् १८७९ मा तयार पारिएको थियो।पछिल्लो समयमा चन्द्रशमशेरले सो पुस्तकलाई ‘चन्द्रनिघण्टु’ राखी प्रकाशित गरिएको कुरा सो पुस्तकमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको वैद्यखानाले यसै पुस्तककाआधारमा देश भरिका जडिबुटी संकलन गरी केही मात्रामा औषधि उत्पादन गरिरहेको छ ।

त्यसपछि सन् १९७६ मा जडिबुटीजन्य बिरुवाको सूची भएको नेपाली जडिबुटी पुस्तक प्रकाशित गरेको थियो । सो पुस्तकका अनुसार नेपालमा ३ हजार ४ सय ५३ जति जडिबुटीजन्य वनस्पतिपाइने सूचीतयार पारिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१४मा गरेको एक प्रतिवेदन अनुसार नेपालमा १ सय १८ प्रकारका परिस्थितिकिय प्रणालीभित्र ३५ थरीका  वनहरु पर्दछन् । जहाँ करिब १० हजार प्रजातिका वनस्पतिजन्य जडिबुटीरहेको अनुमान गरिएको छ । तीमध्ये ५ हजार ८ सय प्रजातिको पहिचान भइसकेको अवस्था छ । त्यसमा पनि७ सय थरीका जडिबुटी औषधिजन्य रुपमा प्रयोगमा आएका छन् ।

सन् २०१७ को सर्वेक्षण तथ्यांक अनुसार अहिले नेपालमा वन क्षेत्र ४४ दशमलव ७४ प्रतिशत पुगेको छ जुन पर्यावरणीय हिसाब र जैविक विविधताका दृष्टिले जडिबुटीका लागि सन्तुलित मानिएको छ ।

वनस्पति विभागद्धारा विसं २०६३ माप्रकाशित ‘नेपालको आर्थिक विकासका लागि प्रथमिकताप्रप्त जडिबुटीहरु’ शीर्षकको अनुसन्धानअुसार नेपालमा प्रथम पञ्चवर्षीय योजनामा वनस्पति विभागको स्थापना गरी औषधीय गुण भएका वनस्पतिको संकलन र सूची तयार पार्ने योजना अघि सारिएको कुरा उल्लेख छ ।

जडिबुटी पूर्ण रुपमा वनस्पतिक संग्रहहो । यो हाम्रो ग्रामीण जीवनको उपचार शैली भएर बसेको छ । यस विधिले अघोसित रुपमा लाखौं मानिसको जीवन रक्षा गरिरहेको देख्न सकिन्छ । उम्रिएपछि एक वर्षे, दुई वर्षे वाबहुवर्षीय जीवनचक्र पुरा गरेका वनस्पतिको एकल वा मिश्रित रुपमा जडिबुटीको प्रयोग गर्न सकिने कुरा बाबुराम ढकालको ‘कृषिउद्यममा देखिएका समस्या र समाधानको प्रयास’नामक पुस्तकमा उल्लेख गरिएको छ ।

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक प्रदीप केसी नेपालमा जडिबुटीको प्राचीन महत्व झन् बढ्दै गएको उहाँ बताउनुहुन्छ ।‘जडिबुटी नेपालको महासम्पत्ति हो । नेपालमा पाइने जडिबुटीमा कोरोनाजस्ता साहसले जितिने महामारी रोगको उपचारमा जेठीमधु, सितो पलाती, भुइँअमला, र गुर्जो जस्ता रोग प्रतिरोधात्मक क्षमता भएका जडिबुटी हाम्रै खेत खोल्सामा भेटिन्छन् । यस्ता जडिबुटीले रोग नियन्त्रण होइन प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले नयाँ रोग प्रवेश गर्न सक्तैन ।’त्यति मात्र होइन भान्साको कल्चरले नै रोगविरुद्ध लड्न सहयोग पुगेको छ । हाम्रै भात भान्सामा पकाइने, पड्काउने, पिसिने, उसिनिने, भुटिने मसलाजन्य ओखतिजन्य मेथि, बेसार, मरिच धनियाँजस्ता जडिबुटी मात्रै पनि मिलाएर खानेहो भने हामी निरोगी हुन सकिने धारणा उहाँको रहेको छ ।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार नेपालमा सानाठुला गरी ४२ वटा जडिबुटीमा आधारित उद्योग सञ्चाल छन् । यिनबाट जडिबुटीजन्य आयुर्वेदिक औषधि उत्पादन हुन्छन् भने २६ थरीका औषधि भारतबाट आयात हुन्छ । वार्षिक झण्डै २ अर्ब बराबरको औषधि नेपालमा उत्पादन हुन्छ भने ३ अर्बको हाराहारीमा भारतबाट औषधि आयात गरिने कुरा उहाँले बताउनुभयो । जडिबुटी हाम्रो सम्पदा भएपनि आयुर्वेदमा भारतमा निर्भर रहनु परेको यर्थाथ उहाँले व्यक्त गर्नुभयो ।

पशुपति नजिकै बसेर झारफुकसंगै जराबुटाको उपचार गर्दै आएका श्यामकुमार भट्टराई भन्नुहुन्छ, ‘हाम्रा वनपाखामा पाइने जडिबुटिमा मौलिक उपचार तरिका जोडिएको छ ।उपचारमा पितापुर्खाको सम्बन्धर विश्वास पनि छ । हाम्रापुर्खाले अनिकालमा होस् या महामारीमा, बाँदरले चिथोर्दा होस् । सर्पले डस्दा, बाघले झम्टिँदा होस् कि भिरबाट लडेर चोट लाग्दाहोस् । शरीरभरि आएका घाउखटिरा हुन् या दीर्घरोग नै किननहोस् सबै समस्याबाट छुटकारा पाउन जडिबुटीको साथलिएका थिए । यी जडिबुटीका उपयोगिता अनेकौं छन् । तीतेपाती, सुनपाती, ठुलोओखति, चिराइँतो र अमलाजस्ता जडिबुटीहरु हाम्रै पाखापखेरामा भेटिन्छन् ।जसलाई जाँतोमापिसेर, हाँडीमा उसिनेर, अँगेनुमापोलेर, चनौटोमा घोटेर, हत्केलामा माडेर, ढिकीमा कुटेर खानख्वाउन सकिन्छ ।’

कालिमाटीस्थित ऋद्धिसिद्धि टे«ड एन्ड सप्लायर्यसका सञ्चालकएवं जडिबुटीका अर्का जानकार गोविन्द गजुरेल भन्नुहुन्छ, ‘आज हामी बज्रजन्तिलाई कुल्चेर कोलगेटले दात मोलिरहेका छौं । ज्यानको बाजीलगाएर टिपिएको बहुमूल्य यार्सा कौडीको भाउमा बेचिरहेका छौं । पाखाभरि करोडौंका जडिबुटी सुकाएर लाखौं मूल्यमा रोग खरिद गर्दैछौं ।’‘आजप्लेग, डेंगु, एड्स, सार्स कोभिड–१९ कोरोना जस्ता महामारीसंग विश्व लडिरहेको छ । यसको पनि समाधान यहीँ जडिबुटीमा छ ।हाम्रो गाउँवस्तीमा जुन रोग देखिन्छ त्यसको उपचार त्यहीँ ठाउँमा उम्रिएका जराबुटामा हुन्छ भन्ने लोक मान्यता छ । मानिसमा लोभ बढेर जाँदा आज वनस्पतिजगत् संकटमा परेको गुनासो गर्दै उहाँले भन्नुभयो,‘आफ्ना पैसाले रसायनिक औषधि किनेर आफ्नै बारिका जडिबुटी माडिरहेछौं । नेपाली भूमिमा हुर्केर यहाँकै ओखर, काफल, अमला, ऐंसेलु, बयर, मुला, गहतको झोल खाई हुर्केका हामीले यिनको संरक्षण र सदुपयोग नगर्ने हो भने अरुले यसको महत्व बुझ्न सक्तैनन् ।’‘डलरका हरिया डल्ला आउने भएमात्र जडिबुटीको लामो सूची बनाउन तम्सिने नत्र चुप लागेर बस्ने एनजीओ, आईएनजीओहरु र नियमन गर्ने निकाय वनस्पति विभागले पनि हाम्रो राम्रो छ भनेर भावनात्मक कुरा गरेर मात्रै हुँदैन आफ्नो बानी सुधार्नुपर्छ ।’उच्च ओहदामा बस्नेहरुले नै राष्ट्रमा उत्पादित जडिबुटीको बेवास्ता गर्ने गरेको उहाँको भनाइ थियो ।

नेपालमा पछिल्लो समयमा जडिबुटी खेती गर्ने, संकलन गर्ने, प्रशोधन गर्ने र औषधि उत्पादन गरी बेचबिखन गर्नेहरुका बीचमा सन्तुलित र समानुपातिक नीति बन्न नसक्दा जडिबुटीजन्य औषधि उत्पादनमा आकर्षण बढ्न सकेको भने देखिँदैन ।अझैसम्म पनि हाम्रा दुरदराजका कुनाकन्दरामा पाइने जडिबुटी प्रवद्र्धन र प्रशोधन गर्ने व्यवस्था मिलाउने हो भने जीवन धान्न कठिन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्