भीपीएल क्रिकेट शुरु



लन्डन, एजेन्सी ।

आजबाट क्यारेबियन मुलुक सेन्ट भिन्सेन्ट र ग्रेनाडाएन्समा टी-१० भीन्सी प्रिमियर लिग (भीपीएल) क्रिकेट शुरु हुँदैछ । कोरोना महामारीका कारण रोकिएको उक्त प्रतियोगिता शुक्रबारबाट सुरु हुन‌ लागेको हो। विश्वभर कोरोना प्रकोप जारी नै रहेको वर्तमान अवस्थामा पनि आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रले गर्न लागेको यो पहिलो प्रतियोगिता हो । क्यारेबियन मुलुकहरुमा सरकारले लकडाउन नलगाएकोले भीपीएल हेर्न दर्शकहरुले स्टेडियममा प्रवेश पाउनेछन् ।

यद्यपी कोरोना संक्रमण पश्चात क्रिकेट गतिविधि शुरु गर्ने पहिलो राष्ट्र भनातु हो जहाँ महिला क्रिकेट प्रतियोगिता खेलिएको थियो । ३१ मे सम्म हुने यस प्रतियोगिताका सबै खेलहरु सेन्ट भिन्सेन्टको अरनोस भेल स्पोर्टी कम्प्लेक्समा हुनेछन् । जसमा ६ टोलीले कुल ३० म्याच खेल्नेछन्। ती सबै खेलहरु टिभीमा प्रत्यक्ष देखाईनेछ ।

प्रतियोगितामा बोटानीक गार्डेनस् रेन्जर्स, ग्रेनाडाएन्स डाईभर्स, साल्ट पोण्ड ब्रेकर्स, ला सुफ्रिएर हाईकर्स, डार्क भ्यु एक्सप्लोरर्स र फोर्ट चार्लट स्ट्राईकर्स गरी ६ फ्रेन्चाईजले प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगिताका लागि ६ फ्रेन्चाईजहरुले ७२ खेलाडी छनोट गरेका छन् ।

कोरोनाका कारण आईसीसीले केही समय अघि लागु गरेको बल चम्काउन थुकको प्रयोग गर्न नपाउने नियम यस प्रतियोगिताबाट पहिलो पटक अवलम्बन गरिने छ । त्यस्तै प्रतियोगितामा कोरोनाबाट बच्नका लागि लागू गरिएको नियमको पूर्ण पालना गरिनेछ। सहभागी क्लबहरुका खेलाडीहरुको सामाजिक दूरी कायम राख्न ड्रेसिङ्ग रुम फराकिला बनाईएको आयोजकले जनाएको छ ।

खेलाडीहरुलाई खेल पूर्व अभ्यासका निम्ति निश्चित स्थान तोकिएको छ । आयोजकले खेलको दौरान समर्थकहरुसँग खेलाडीले भेट्न नपाउने नियम पनि लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्