लकडाउन लम्बिँदा खेलकुद ठप्प



कोरोना भाइरसको महामारीले गर्दा नेपाली खेलकुद ठप्प रहेको छ । खेलकुद नेपालमा कहिले फर्कन्छ भन्ने कसैले भन्न पनि सकिरहेका छैनन् । नेपालमा कोरोना भाइरसको संक्रमण पनि बढ्दै गइरहेको अवस्था छ । हालसम्म ४ सयभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भइसकेको छ । यस्तो अवस्थामा सरकारले लकडाउनको समय पनि बढाउँदै लगेको छ । यस हिसाबमा खेल कसरी फर्कन्छ वा धेरै समयसम्म खेल नै ठप्प हुन्छ भन्ने प्रश्न उब्जेको छ । साथै संघले खेलाडीका लागि के गरिरहेको छ भन्ने पनि प्रश्न उब्जेको छ ।

यसै क्रममा केही खेल संघका पदाधिकारीसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानी जस्ताको तस्तैः

 

दीपक श्रेष्ठ
अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ

हामीले खेलाडीलाई आफँले गर्नुपर्ने व्यायाम नछोड्न भनिरहेका छौं, किनभने व्यायामले इम्युनिटी पावर बढाउँछ । यसले रोगसँग लड्ने क्षमता बढ्दै जान्छ । अर्को खेलाडीलाई उत्साहित गराउने कार्यक्रम पनि हामीले ल्यायौं । भर्खरै मात्र हामीले अनलाइन करातेअन्तर्गत काताको प्रतिस्पर्धा सम्पन्न गराएका थियौं ।

यसमा विजेताहरूलाई पुरस्कार पनि दियौं । यसले पनि खेलाडीलाई राहत मिल्नेछ भन्ने हाम्रो आशा हो । अहिलेसम्म मेचीदेखि महाकालीसम्म रहेका खेलाडीका लागि पनि हामीले हेरिरहेका छौं । कसैलाई त्यस्तो समस्या परेमा हामीले त्यस्ता खेलाडीका लागि पनि तत्काल सहयोग गर्ने छौं । अहिले खेल फर्कने भन्ने सम्भव नै छैन, मार्सल आर्टस् लड्नुपर्ने खेल भएकाले आयोजना गर्न सकिँदैन । अहिले भनेको घरमै बसेर सुरक्षित हुनु हो र सरकारको आदेश पालना गर्नु हो ।

धर्ममान वज्राचार्य
प्रथम उपाध्यक्ष, अखिल नेपाल टेबलटेनिस संघ

कोरोनाले गर्दा खेल कहीं पनि भइरहेको छैन । नेपालमा पनि यसको प्रभाव बढेको छ । यस स्थितिमा खेल कसरी गर्ने खोइ भन्नै सकिन्न । खेलाडीहरू त घरघरमै प्रशिक्षणमा छन् । हुन त टेबलटेनिस दँरी बनाएर नै खेल्ने हो । कोरोनामा सामाजिक दँरी बनाउनुपर्ने हिसाबले टेबलटेनिस खेलाउन सकिन्छ । सरकारले अनुमति दियो भने टेबलटेनिस खेलाउन सकिन्छ । हामीले सावधानीको नियमहरू अपनाएर खेलाउन सकिन्छ । तर लकडाउनले गर्दा यो पनि सम्भव हुँदैन ।

दीपकहर्ष वज्राचार्य
अध्यक्ष, नेपाल जुडो संघ

कोरोनाले सबै खतमै गरिसक्यो । खेल फर्काउन कसरी सकिएला खोइ । अहिले दुई जना खेलाडी नेपाल प्रहरीसँग आबद्ध भएकाले त्यही प्रशिक्षण गरिरहेका छन् । यी दुई जना खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट ओलम्पिकमा खेल्नका लागि तयारी गरिरहेका छन् ।

अर्को वर्ष ओलम्पिक हुने भने पनि उनीहरूको प्रशिक्षण र अभ्यास जारी छ । अन्य जुडो खेलाडीहरू विभिन्न विभागीय क्लबमा रहेकाले पनि अभ्यास गरिरहेका छन् । अहिलेसम्म हाम्रा खेलाडीले समस्या हामीलाई बताएका छैनन्, हामीले लगत बटुलेर खेलाडीको अवस्थानुसार राहत दिन शुरू गर्नेछांै । यो लकडाउन कहिले खुल्ने अझै पत्तो छैन ।

हरिशरण केसी
अध्यक्ष, बादोरियो कराते डो संघ

संघले अनलाइन शारीरिक व्यायामको प्रतिस्पर्धा गरेको छ । पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई २५ सय र तेस्रो हुनेलाई १५ सय रुपियाँको पुरस्कार प्रदान गरेको छ । यसले खेलाडीहरूले घरपरिवारमाझ शारीरिक व्यायाम गरेका थिए । उनीहरूले कसरी प्रशिक्षण गर्छ भन्ने कुरालाई अभिभावक र अन्य परिवारका सदस्यले पनि हेर्न पाएका छन् ।

यसले खेलाडीलाई यस्तो लकडाउनको अवस्थामा केही राहत पनि मिल्ने हाम्रो विश्वास हो । खेलाडीहरूलाई हामीले यस्तो अवस्थामा हेरिरहेका पनि छौं । अस्ति मात्रै हाम्रा खेलाडीलाई राहत दियौं । अझ लकडाउनको समय लम्बिँदै गएमा फेरि राहत दिनेछांै । कोरोनाले गर्दा हामीले खेलाडीको स्वास्थ्य पनि ख्याल गर्नुपर्छ । हेरौं कतिसम्म लम्बिन्छ यो भाइरस ।


दीपक आचार्य
वरिष्ठ गल्फ निर्देशक, गोकर्ण गल्फ रिसोर्ट

गल्फ अहिलेचाहिँ शुरू गर्दा संक्रमण बढ्दै जाने जस्तो पनि लाग्छ । तर लकडाउन मात्रै समस्याको समाधान होइन, अब आर्थिक पक्षलाई पनि विस्तारै खोल्दै जानुपर्छ । अमेरिकामा गल्फ शुरू गरेको छ, अन्य देशमा विस्तारै लकडाउन खुकुलो पारेर ल्याइएको छ ।

भारतमा पनि लकडाउन खुकुलो गर्र्दै उद्योगधन्दा शुरू गर्न लागिरहेको छ । अब त हामीले पनि कोरोनाविरुद्ध लड्न सिक्नैपर्ने भयो। खेल जगत् नै एकदम ठप्प छ । फेरि अहिले नै अमेरिकामा शुरू भयो भनेर हामीले शुरू ग¥यांै भने पनि संक्रमण हुने डर छ । विस्तारै सावधानी अपनाएर हामी गल्फ शुरूचाहिँ गर्नेछौं ।

 

प्रतिक्रिया दिनुहोस्