लकडाउनमा देशकै ठूलो सबस्टेसन बन्दै



नेपाल समाचारपत्र, काठमाडौं

लकडाउनका बेलामा पनि निर्माणाधीन ४००-२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम जारी छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी धनुषामा आयोजनाको निर्माण भइरहेको हो ।

सबस्टेसनमा उपकरण जडान एवम् सिभिल संरचनाको निर्माणका लागि नेपाल, भारत र चीनका प्राविधिक तथा गैरप्राविाधिक गरी झन्डै ८० जना जनशक्ति खटिएका छन् । पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गएिको ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन रहेको छ ।

चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सुरक्षात्मक उपाय अपनाएर काम धमाधम भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो– ‘कोरोनाका कारण चिनियाँ इन्जिनियरहरू आउन नसक्दा र नेपालमा लागू गरिएको लकडाउनले निर्माण प्रभावित भयो, चीनबाट भारतको कलकत्ता हुँदै ल्याइएका उपकरण दुवै मुलुकमा लागू गरिएको लकडाउनका कारण ल्याउन सकिएको थिएन, सबै निकायसँग समन्वय गरी एक हप्ताअघि उपकरण कलकत्ताबाट आयोजनास्थलमा ल्याइसकिएको छ, अहिले उपकरणहरूको जडान र परीक्षण धमाधम भइरहेको छ ।’

चीनमा उत्पादित उपकरणहरू भएकाले परीक्षणका लागि चिनियाँ इन्जिनियरहरू लकडाउन शुरू हुनुभन्दा पहिले नै आइसकेका छन् । उपकरणको सञ्चालनमा एक जना भारतीय इन्जिनियर आउनुपर्ने तर लकडाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्न सक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिनुभयो ।

सबस्टेसनमा ३१५ एमभीएका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहनेछन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । ‘सम्भव भएसम्म तीनवटै र नभएमा कम्तीमा पनि दुईवटा पावर ट्रान्सफर्मर असारभित्रमा चार्ज गर्छौं।’ –कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

यो सबस्टेसन सञ्चालनमा आएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न पूर्वाधार तयार हुनेछ ।

माथिल्लो तामाकोसीको विद्युत्लाई २२० केभी गोंगर (दोलखा)–खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा जोडेर पूर्व–पश्चिम पठाउन सकिन्छ । साथै ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिन्छ । आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्नसमेत बाटो खुल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्