भारतीय गतिविधिले मर्माहत: राजेश हमाल



नायक राजेश हमालले भारतको पछिल्लो गतिविधिले मर्माहत बनाएको बताएका छन्।

हमालले फेसबुकमा १५ मिनेट लामो भिडियो सेयर गर्दै भारतको गतिविधिले सबै नेपालीलाई मर्माहत बनाएको बताएका हुन्।

‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ। इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो’ हमालले कपुरधारास्थित भारतीय दूतावासपछाडि रहेको आप्नो निवासबाट फेसबुकमा भिडियो सेयर गर्दै भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन्।

उनले भिडियोमा सम्पूर्ण नेपाली जनताले आप्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्नेसमेत उल्लेख गरेका छन्। हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको र यस तथ्यलाई भारतले स्वीकानुपर्ने बताएका छन्। ‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौं कि भारतले तथ्य स्वीकार्नुपर्छ। भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’ –उनले भिडियोमा उल्लेख गरेका छन्।

अंग्रेजी भिडियो सन्देशमा उनले नेपाल र भारतबीच उठेको सिमानाको समस्याले सिंगो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको जनाएका छन्। भारतलाई इतिहास पल्टाएर हेर्न सुझाउँदै उनले भारतले भँकम्पको समयमा नेपालमा नाकाबन्दी लगाएर दिएको ठूलो दुःखलाई नेपालले कहिले पनि बिर्सन नसक्ने पनि उल्लेख गरेका छन्।

‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समाधान गर्न आवश्यक छ। सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ’ कूटनीतिक पिताका छोरा हमालले कूटनीतिक शैलीमै भिडियोमा प्रस्टरूपमा भनेका छन्।

उनले रिस र दोषले नेपाल र भारत दुवैलाई फाइदा नहुने जनाउँदै सत्य र तथ्यलाई स्विकार्नुपर्नेमा जोड दिएका छन्। हमालले नेपाल र भारतजस्तो असल मित्र विश्वमा कमैमात्र देखिने भएकाले भारतले तथ्यलाई स्वीकार गर्नुपर्नेमा जोड दिँदै कोरोना प्रकोपबीच उत्पन्न नेपाल र भारतको सीमा विवादले अन्तर्राष्ट्रियस्तरमा उदाउँदो शक्ति भारतबारे सन्देश जानेमा सचेत हुनसमेत भिडियोमा आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्