दार्चुलाको व्यास पुग्यो नेपाली सेना



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल सरकारले गएको वैशाख १४ गते गरेको निर्णयअनुसार महाकाली करिडोर दार्चुला टिंकर सडक योजनाअन्तरगत उत्तरीतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको छ ।

सो सडक खण्डअन्तर्गत पर्ने दार्चुलाको व्यास गाँउपालिका–२ स्थित घाँटीबगर इलाकामा करिब २ मिटर चौडाइको ४ सय ५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान घाँटीबगर नजिकको थीमा नेपाली सेनाको एक सेक्सन फौज तैनाथ भएको छ ।

साथै बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भोलि तैनाथ गर्ने नेपाली सेनाले जनाएको छ ।

चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरू र टिंकर गाउँका करिब १ सय ८२ घर–परिवारको करिब १ हजार २ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवत–जावत गर्नका लागि व्यास गाउँपालिका–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवत–जावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएको भन्दै सेनाले त्यहाँ बाटो निर्माण गर्न लागेको हो ।

घाँटीबगर र मौरीभीरमा पर्ने ४ सय ५० मिटर सडक खण्ड सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहित थीमा तैनाथ गर्ने योजनाअनुरूप सो फौज तैनाथ भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाल सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीलाई पूर्ण प्रतिबद्धताका साथ सम्पन्न गर्दै आएको नेपाली सेनाले संविधानको मर्म र भावनाअनुरूप नेपालको विकास निर्माणको क्षेत्रमा प्राप्त जिम्मेवारीलाई समेत उपलब्ध स्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्नेतर्फ आवश्यक कारबाही तत्काल अगाडि बढाउने सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्