वार्ता, वार्ता र वार्ता !

सम्पादकीय



केही महिनाअघि जसरी एकलौटी रुपमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो मुलुकको नक्सामा बनाउँदा नेपाललाई सोधेन, त्यसरी नै हामीले पनि एकलौटी रुपमा नक्सा तयार पारेर सार्वजनिक ग¥यौं, यसमा कसैले पनि भारतीय सरकारलाई उचाल्ने काम नगरेहुन्छ ।

नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध छ भन्ने, अनि नेपालसँग उसले आफ्नो प्रामाणिक आधारसहित भूमिका सम्बन्धमा आवाज उठाउँदा नेपाललाई दुश्मन देख्ने भारतीय मिडियाको प्रवृत्ति नसुध्रिने हो भने दुई मुलुकको जनस्तरको सम्बन्ध इतिहासको विषयमा सीमित नरहला भन्न सकिन्न ।

इतिहासदेखि वर्तमानसम्म शासकहरुबाट कमजोरी भएका छन् । १८१६ को सुगौली सन्धिले प्रष्ट तोकेको नक्सा बीचमा शासक–प्रशासकहरुको अपराधका कारण अन्यथा हुन गएको हो । २०३२ सालमा हामी आफैले मुलुकको नक्सा बनाउँदासमेत लिम्पियाधुरासम्म पुग्न नसक्नु दुर्भाग्यपूर्ण छ । त्यसयताका चार दशक केबल सिंहदरबारको चक्कर काटेर बिताउनु अर्को बिडम्बना ।

तर, यीआदि हाम्रा कमजोरी भएपनि हामीसँग सो भूमि हाम्रै भएका बलिया प्रमाण छन्, भूमिपति र जनपति भारतले छिमेकी शुभचिन्तक नेपाल र नेपालीप्रति सद्भाव राख्नुपर्छ, थोरै भूभागका लागि तीन करोड नेपालका नेपाली र अर्को झण्डै त्यत्तिनै परिमाणमा संसारमा छरिएका नेपालीको चित्त दुखाउने काम गर्नुहुन्न ।

भारतले नेपालको जमिन मिचेर लिइदियो भन्ने खबरले भारतमै रहेका भारतीय नेपालीको पनि चित्त दुख्नेछ । कोरोना महामारीले थला परेको अवस्थामा तत्कालै निर्णयमा नगएपनि दुई मुलुकका प्रधानमन्त्रीहरुले फोनबाटै मात्र भए पनि वार्ता गरेर ‘हामी यस विषयमा गम्भीर छौं’ कोरोनापछि बसेर सल्ट्याउँछौं’ भन्नुपर्छ । भारत सरकारले नेपालको नक्सा अस्वीकार्य, नेपालबाट सार्वभौमिकतामाथि आक्रमणआदि भाषा बोलेर दुनिया हँसाउने काम गर्नुहुन्न ।

यस सम्बन्धमा हालै मात्र पनि नेता तथा प्रशासकहरुबाट कमजोरीहरु भएका छन् । भारतीय प्रधान सेनापतिले परोक्ष रुपमा चीनतिर देखाउँदै ‘नेपाल अरुको उक्साहटमा आयो, लिपुलेक र कालापानी भातरको हो’ भनेर किन बोलेको ? विषयलाई मिलेर सुल्झाउने कि कास्मिरीकरण गर्ने ? नेपाल साच्चिकै भारतको असल मित्र हो भन्ने सत्यलाई किन बिर्सेको ?

विश्वनाथ र पशुपतिनाथ, केदारनाथ र मुक्तिनाथको सामीप्यलाई किन बेवास्ता गरेको ? नेपाल प्रमाण बोकेर बोलिरहेकोछ भन्ने देख्दादेख्दै नेपाललाई कसैको बुई चढ्नुपर्ने हैसियतमा पछारिदिने ? भारतीय सेनापतिबाट कमजोरी भएकै हो । त्यसो त कमजोरी गर्न हामी पनि कम छैनौं, प्रधानमन्त्री केपी शर्मा आलीले संसदमा उभिएर ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भनेर भारतीय पक्षलाई चोट पुग्नेगरी किन बोलेको ? यो भाषा त राजनीतिक वा कूटनीतिक कुनै दृष्टिले पनि सभ्य देखिन्न !

यस्ता केही बोली–वचनमा कमजोरी भएपनि हामीले प्रक्रिया पु¥याएरै राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक गरेका छौं । यसअघि बारम्बार भारतीय पक्षलाई सजग गराउने र राजदूतलाई नै बोलाएर ससम्मान टिपोट दिने काम गरिएपछि मात्र नक्सा सार्वजनिक गरिएको हो । यसका लागि ओली सरकारको प्रशंसा आमनेपालीले गरेका छन् । तर, यसलाई पूर्णता दिनका लागि सरकारले तत्काल वार्ता गर्नु आवश्यक भएको छ । दुवै मुलुकमा रहेका नेपाली र भारतीय नागरिकको सम्मान र विश्वास कायम राख्न दुवै पक्ष समयमै सजग हुनु अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्