आईएमईद्वारा ५ सय कर्मचारीलाई बिदा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहनुभएका आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिनुभएको छ।

कोरोना भाइरस (कोभिड–१९)का कारण देश लकडाउनमा भएको र आर्थिक गतिविधि तथा काम ठप्प भएको जनाउँदै कर्मचारीलाई अनिश्चित्कालीन बेतलबी पत्र दिइएको पाइएको छ। आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुने गरी बेलतबी बिदाको पत्र थमाइएको हो।

आईएमई मोटर्स प्रालिले वैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको जनाएको छ। कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजताबारे जानकारी गराउन भनेको थियो।

आईएमई मोटर्सले नेपाली बजारमा अशोक लेल्यान्डका कमर्सियल गाडी, अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र यूएमका मोटरसाइकल तथा एसकर्टस्का हेभी इक्युपमेन्ट बिक्री गर्दै आएको छ। यी चारवटै ब्रान्डका सबै कर्मचारीलाई एकैपटक बेलतबी बिदामा राखिएको हो।

एकैपटक ठूलो संख्यामा कर्मचारीलाई बिदा दिइएको सम्बन्धमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्– ‘यो मिडियामा इस्यु बनाउनुपर्ने कुरा होइन। मैले त पत्र हेरेको पनि छैन। मिडियाबाट फोन त आयो।

अहिले मिडियामै त तलब कटौती भएको छ भने हामीमा नहुने कुरै हुन्न। अहिले उद्योग वाणिज्य महासंघमा यही विषयमा छलफल भइरहेको छ। हामीले त्यो पत्र बेतलबी बिदाका लागि होइन, घरमै सुरक्षित भएर काम गर्नका लागि पत्र काट्ने सल्लाह भएको थियो।

तर, पत्र मैले हेरेको छैन। लकडाउन भएको दुई महिना भइसक्यो। अझै लम्बिए त बेतलबी बिदामात्रै होइन अफिस नै नचल्ने स्थिति आउन सक्छ। यसकारण यो मिडियाले इस्यु बनाएको मात्रै हो। सबै स्वाभाविक नै हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्