भर्चुअल कार्यक्रम गरेर मनाइयो चलचित्र पत्रकारिता दिवस



चलचित्र पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस यस वर्ष भर्चुअलरूपमा मनाएको छ।

संघले कोरोना सक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण लागँ लकडाउनको असहज परिस्थितिका कारण भर्चुअलरूपमा १८औं चलचित्र पत्रकारिता दिवस तथा २१औं स्थापना दिवस मनाएको हो। देश र विदेशका विभिन्न क्षेत्रमा रहेका चलचित्र पत्रकारहरू जुम एप्सबाट भर्चुअल कार्यक्रममा सहभागी भएका थिए। कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि जारी लकडाउनको पालना गर्दै संघले डिजिटल प्लेटफर्ममार्फत् आप्mनो वार्षिकोत्सव एवं पत्रकारिता दिवस यसरी मनाउनुपरेको संघका महासचिव समीर बलामीले बताए।

देश र विदेशमा रहेका ७८ जना चलचित्र पत्रकार तथा फिल्मकर्मी भर्चुअल कार्यक्रममा सहभागी भएका थिए। भर्चुअल कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साखी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र पत्रकारिता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली फिल्म क्षेत्रको विकास र उन्नतिमा चलचित्र पत्रकारहरूले खेलेको भूमिकाको चर्चा गरेका थिए।

त्यसै गरी केही समयदेखि अमेरिकामा रहँदै आएका संघका संस्थापक अध्यक्ष भरत शाक्य तथा नेपालका विभिन्न स्थानमा रहेका निर्वतमान अध्यक्ष सन्दीप सापकोटा, पूर्व अध्यक्षहरू विदुर गिरी र शान्तिप्रिय, संघका सल्लाहकारहरू विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र पत्राकारिताका क्षेत्रका विविध पक्षबारे चर्चा गरेका थिए। सो अवसरमा पूर्व अध्यक्ष गिरी, शान्तिप्रियलगायतले चलचित्र पत्रकारितामाथि एक कोणमा बसेर भइरहेको प्रहारप्रति सचेत हुनुपर्ने चर्चा गरेका थिए। गिरीले लामो लकडाउनका कारण चलचित्र पत्रकारहरू पारिश्रमिक र रोजगारविहीन हुुने स्थिति सिर्जना भएको अवस्थामा संघले भूमिका खेल्नुपर्ने औंल्याए।

त्यसै गरी उपाध्यक्षहरू कुबेर डंगोल, जीवन पराजुली र दीपज्योति थापा, सचिवद्वय रघुनाथ सापकोटा र विशाल राई हसिन तथा कोषाध्यक्ष प्रदीप कार्कीले संघको गतिविधिमाथि प्रकाश पारेका थिए। संघका अध्यक्ष दिनेश सिटौलाले लकडाउनको विषम परिस्थितिका कारण यो वर्ष प्रदान गरिने सम्मान र पुरस्कारको घोषणा गर्न नसिकिएको जनाए। उनले अनुकूल समयमा सो सम्मान र पुरस्कार प्रदान गरिने बताए।

भर्चुअल कार्यक्रममा संघका विभिन्न जिल्लामा रहेका शाखाका अध्यक्षहरू पनि सहभागी भएका थिए। सो अवसरमा हेटौंडा शाखाका अध्यक्ष मणिराज गौतमले संघको पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७, मकवानपुरबाट गोरखापत्रमा आबद्ध पत्रकार राममणि दाहाललाई नगद ५ हजारसहित चलचित्र पत्रकारिता पुरस्कार २०७७ र मकवानपुरबाट फिल्म क्षेत्रमा सक्रिय नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई चलचित्र कलाकर्मी सम्मान २०७७ बाट सम्मानित गरिने दोहोर्याए।

चितवन शााखाले पनि यस वर्षबाट चलचित्र दिवसका अवसरमा सम्मानको कार्यक्रम गर्ने भएको छ। शाखाका अध्यक्ष रवि अधिकारीले अभिनेता ऋृद्धिचरण श्रेष्ठ, चितवनका चलचित्र पत्रकारद्वय किशोर खनाल र सुशील पन्त तथा काठमाडौंका विजय आवाज (सुवेदी)लाई जनही ५ हजार रुपियाँसहित सम्मान गर्ने जनाए। दाङ र पोखरा शाखाले पनि सम्मान कार्यक्रम गर्ने घोषणा गरेका छन्। कार्यक्रममा दाङका अध्यक्ष शिव पुन, कास्कीका अध्यक्ष अरूण गिरी, रूपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ र पोखराका महाधिवेशन प्रतिनिधि सुसन घिमिरे सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्