बालबालिकाका लागि मार्गनिर्देशक बन्नुहोस्



आफैं गर्न दिनुस् बच्चालाई, आफैं काम गर्ने सोख हुन्छ । उसलाई रुमाल धुन दिनुस् । उसलाई भाँडामा पानी भर्न दिनुस् । उसलाई फूल सजाउन दिनुस् । उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् । उसलाई खानेकुरा पस्किन दिनुस् । बच्चालाई सारा काम आफैं गर्न दिनुस् । उसको आफ्नो मर्जीले गर्न दिनुस् । उसको आफ्नो ढंगले गर्न दिनुस् । पहिचान, हाम्रो आँखामा अमृत छ वा विष, हाम्रो बोलीमा मिठास छ या टर्रोपन, हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता, हाम्रो मनमा शान्ति छ वा अशान्ति, हाम्रो मनमा आदर छ वा अनादर, बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।
बच्चा हामीलाई एकदम जानिसक्छन् । ‘दुश्मन सुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छन् । खाऊ, नत्र चोरले लिएर जान्छ । बाघ आयो, बाबाजी आए, पुलिस आयो, चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु, पढ्न बस, नत्र पिट्छु, जो यसरी बच्चालाई डर देखाउँछन्, उनीहरू बच्चाहरूका दुश्मन हुन् ।
यदि हामीले बच्चाहरूलाई आफ्नो घरमा उचित स्थान दियौं भने, हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ । स्वर्ग बच्चाको सुखमा छ । स्वर्ग बच्चाको स्वास्थ्यमा छ । स्वर्ग बच्चाको प्रसन्नतामा छ । स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ । स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ । बच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ । बच्चाको शरीर बढ्दो छ । बच्चाको शक्ति विकासशील छ । तर उसको आत्मा त पूर्ण छ ।
हामी त्यो आत्मालाई सम्मान गरौं । आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरूको शुद्ध आत्मालाई प्रदूषित नपारौं । जानी राखौं बच्चा सम्पूर्ण मनुष्य हो । बच्चामा बुद्धि छ, भावना छ, मन छ, आफ्नो बुझाइ छ । बच्चामा भाव र अभाव छ, रुचि र अरूचि छ । हामी बच्चाका इच्छाहरू चिनौं । हामी बच्चाका भावनाहरूलाई सम्झौं । बच्चा अबोध र निर्दोष छ । आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं । आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।
बच्चालाई आफैंले खानु छ, तपाईं उसलाई नख्वाउनुस् । बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् । बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् । बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् । बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् । किनकि बच्चा स्वावलम्बन चाहन्छ । यति पनि नगर्ने रुगानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।
गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् । अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् । राति सुत्ने समयमा बच्चालाई असल कहानीहरू सुनाउनुस् । बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् ।
बच्चालाई यस कारण सम्मान गर्नुस्, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् । बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस्, जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् ।
बच्चालाई नपिट्नुस्, जसले गर्दा मारपिट गर्ने हाम्रो पशुवृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रूपमा विकास गर्न सक्छौं । बुबा र शिक्षकले बुझिराख्नुस् । पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्, बरु उल्टै बिग्रिँदै जान्छन् । पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ । लोभ देखाउँदा बच्चा लालची बन्छन् । डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी बन्छन् ।
यदि आमा–बुबाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने, त्यो ठूलो भूल हो । आमा–बुबा र घर, दुइटै संसारको सबैभन्दा ठूलो र शक्तिशाली चिजहरू हुन् । घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् ।
प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् । झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी, खेतको माटो, परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा, यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् । बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् । बच्चा पल–पलमा बढ्ने प्राणी हो । बच्चाको दृष्टि हरसमय प्रश्न सोध्ने खालको हुन्छ । बालकको हृदय केही बोलिरहने खालको हुन्छ ।
बच्चाको अर्थ हो, निरन्तर गति, जहाँ अल्पविरामसमेत हुँदैन । आमा–बुबा र अरू ठूला मान्छेको झगडाको कारण घरको वातावरण प्रायः अशान्त रहने गर्छ । यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् । अरू केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि हामी घरमा मिजासिलोरूपमा जीवन जिउन सिकौं । घरको शान्त र सुखी वातावरणमा नै बच्चाले राम्रो शिक्षा पाउन सक्छ । जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षक बन्छन् ।
जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षाशास्त्री बन्छन् । शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा एक सामथ्र्य, अद्वितीय र जीवित ग्रन्थ हुन् । तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ तर आफ्ना बच्चालाई धोका दिन सक्नुहुन्न । तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ तर आफ्ना बच्चालाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न । तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ तर आफ्ना बच्चालाई केही पनि लुकाउन सक्नुहुन्न ।
जबसम्म बच्चाहरूलाई प्रेम र सम्मान मिल्दैन, तब बच्चाहरूले अरूलाई प्रेम कसरी बाँड्न सक्छन् ? बच्चाहरूलाई सिकाउने क्रममा मैले पनि धेरै सिकें । बच्चाहरूलाई पढाउने क्रममा मैले पनि निकै पढें । बच्चाहरूको गुरु बनेर मैले उनीहरूको मन जितेको छु ।
– उत्तम डंगोल, नारनटार, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्