घरबाटै शारीरिक व्यायामको प्रतिस्पर्धा



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल बादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा आआफ्नो घरभित्र रहेर गरिने शारीरिक व्यायामहरूको भिडियो प्रतिस्पर्धा गरियोे।

कम्तीमा १ मिनेट समयभन्दा माथिको भिडियो कराते नेपाल भन्ने समँहमा पोस्ट गरेर सहभागिता जनाउन सकिने उक्त प्रतिस्पर्धा वैशाख २० गतेबाट शुरू भई जेठ ५ गते सम्पन्न भएको थियो। सो अभियानमा ६५ खेलाडीले सहभागिता जनाएका थिए।

तीमध्ये उत्कृष्ट ३ भिडियो पठाउनेमा विकबहादुर थामीको भिडियोले पहिलो स्थान हासिल ग¥यो। त्यस्तै हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान प्राप्त गरे। शीर्ष तीन आउनले क्रमशः जनही ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपियाँ पुरस्कार जित्न सफल भएका थिए।

प्रतियोगिता नेपाल कराते महासंघ महासचिव, नेपाल बादोरियो कराते डो संघका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक हरिशरण केसीको विशेष निर्देशनमा आयोजना गरिएको थियो।

केसीले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘भिडियो प्रतिस्पर्धा जितहारका लागि भन्दा पनि हामी हाम्रो स्वास्थ्यप्रति कतिको सचेत छौं भन्ने उद्देश्य रहेको छ। हामीले जानेका शारीरिक व्यायामको अभ्यास परिवारका सदस्यमाझ कसरी सिकाउन सक्छौं भन्ने पनि हो।’

उक्त अभियान नेपाल बादोरियो कराते डो संघका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय खेलाडी सिमोन खत्री र ब्ल्याक बेल्ट कमिटीका सचिव पुरुषोत्तम पोखरेलले संयोजन गरेका थिए। यस्ता प्रतिस्पर्धाले लकडाउनको बेला ट्रेनिङस्थलसम्म आएर ट्रेनिङ गर्न नपाएका खेलाडीको मनोबल उच्च पार्ने हुँदा आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धा गर्दै जाने कुरा संयोजक पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्