हरर कथामा अक्रान्त



कोरोना संक्रमणको जोखिमका कारण जारी लकडाउनको समयमा पनि सिर्जनाका कामहरू भइरहेका छन्। यसैलाई निरन्तरता दिँदै लकडाउनकै समयमा एक हरर फिल्म निर्माण गरी सार्वजनिक गरिएको छ।

लकडाउनको परिवेश समेटेर जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित हरर फिल्म अक्रान्त युट्युबमार्फत सार्वजनिक गरिएको छ। १५ मिनेटको यो छोटो फिल्ममा हरिकृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायले अभिनय गरेका छन्। फिल्मको सबै दृश्यहरू छायांकन एकै घरभित्र छायांकन गरिएको निर्देशक राजोपाध्यायले जानकारी गराएका छन्। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फिल्मको निर्माण कार्यमा सामाजिक दँरी कायम गरिएको उनले बताए।

जयनकुमार मोक्तानको छायांकन रहेको फिल्ममा कथा र सम्पादन निर्देशक राजोपाध्यायकै रहेको छ। फिल्म नेपाली, तामाङ र नेवारी गरी तीन भाषामा फरकफरक युट्युब च्यानलबाट रिलिज गरिने राजोपाध्यायले जानकारी गराए। निर्देशक राजोपाध्यायद्वारा निर्देशित ठूलो पर्दाको फिल्म घनचक्कर पनि तयार हुँदै छ। यो फिल्ममा सौगात मल्ल, सलोन बस्नेतलगायतले अभिनय गरेका छन्। निर्देशक राजपोध्यायले दर्जनौं म्युजिक भिडियो पनि निर्देशन गरेका छन्, जसलाई युट्युब च्यानलमा अपलोड गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्