देशको नक्सा



पुर्खाले आर्जेको मुलुकको भू–भागलाई हामीले चार दशकदेखि नक्साबाट समेत हटाएर बसेको देखिएपछि हाम्रा शासकले यसबीच गरेका देशभक्तिका बखान उपहास भएको छ । चार दशकअघिको नक्सामा रहेको लिम्पियाधुरा, कालापानी क्षेत्र भारतले आफ्नो भूगोलमा समावेश गरिसक्दा पनि हामी लामो निद्रामा सुतेका थियौं ।

जेहोस्, सर्वपक्षीय दबाबका कारण सरकारले मुलुकको नक्सा सच्याएको छ । यतिखेर लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्बाट पारित गरेपछि मुलुक एकाएक तरंगित भएको छ । नेपालको नक्सालाई अद्यावधिक गर्ने सरकारको निर्णयलाई आम नेपालीले स्वागत गरेका छन् । यद्यपि जमिन आफ्नो भएको भन्दै नक्सा मात्र निकालेर हुँदैन । यस विषयमा भारतीय पक्षसँग पनि कूटनीतिक ढंगले बहस गर्ने वातावरण बनाउन सक्नुपर्दछ । विवादलाई उत्कर्षतिर होइन, समापनतिर लैजानुपर्छ ।

अहिले सरकारले गरेको उक्त निर्णयका बारेमा भारतले पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसमा भारतको जवाफ आएपछि नेपालले धैर्यता अपनाउँदै आफ्नो भूमीको रक्षा गर्ने वातावरण बनाउन सक्नुपर्दछ । सरकारले मन्त्रिपरिषद्बाट जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेत समेटेको छ ।

नक्सामा भारतले आफूखुसी बाटो बनाएर चीनको स्वशासित क्षेत्र तिब्बतसम्म पु¥याएको छ । चीन र भारत दुवै देशको सहमतिमा बाटो निर्माण भएको भन्नु यस सन्दर्भमा अर्थहीन छ । दुई छिमेकीको सहमतिमा कुनै तेस्रो छिमेकीको जग्गा मिच्न पाइँदैन, त्यसो गरिएकोमा वैध हुने पनि होइन । तर, भारतसँगै नेपालले चीनसँग पनि कुरा राख्न सक्नुपर्दछ भन्ने पक्षलाई भने महत्व दिनु आवश्यक छ ।

होइन भने नेपाली भूमी सधैं विवादमा मात्रै पर्ने निश्चितप्रायः देखिन्छ । यसमा राजनीतिक दलका नेताहले सुझबुझपूर्ण तरिकाले काम गर्न सकेमात्रै त्यस भू–भागमा देखिएको विवाद साम्य हुनेछ । यसमा आवेग भन्दा पनि बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्छ । राष्ट्रवादको नाममा हुने कुनै पनि क्रियाकलापलाई सही ढंगले कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन सकिएन भने त्यसले आफैंलाई हानि गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।

जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको वर्तमान सरकारले आफ्नो गुम्दै गएको शाखलाई जोगाउन यो निर्णय सञ्जीवनी बुटीजस्तै त भएको छ अब कार्यान्वयन कसरी हुन्छ त्यो भने हेर्न बाँकी नै रहेको छ । अब आफ्नो भूमिलाई प्रयोग गर्न आइपर्ने कठिनाइका बारेमा सरकारले बेलैमा बुद्धि पुर्याउनुपर्छ ।

नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक मात्र होइन तराईका बिभिन्न क्षेत्रमा समेत विवाद छ । सूधियारसँग सिमानालाई लिएर विवाद हुनु अस्वाभाविक पनि होइन । तर, सबैजसो ठाउँमा भारतले नै नेपाली भूमि मिचेको देखिनु भने भारतका लागि पनि हितकर हुँदैन ।

भारत आफैं विशालतम काय भएको मुलुक हो । उसलाई केही किलोमिटर जमिन छिमेकबाट लिएर मोटाउनु आवश्यक छैन । यसले मात्र नेपालभित्र आमनागरिकमा भारतविरोधी भावना मात्र बढाउँछ । यस प्रकारको भावनाले उसको व्यापार र सुरक्षामा नकारात्मक असर पर्न सक्छ । त्यसैले खुला सिमानाको आनन्द उठाउन त्यसलाई सुरक्षित र व्यवस्थित पनि गर्नुहुन्न भन्ने छैन । अब दुवै मुलुकले दीर्घकालीन समाधानका पक्षमा कदम चाल्ने बेला भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्